ई – दिशानिर्देश

दार्चुलाबाट नेता बडु समानुपातिकमा

५ कार्तिक २०७४, आईतवार
दार्चुलाबाट नेता बडु समानुपातिकमा


दार्चुला, ०४ कार्तिक । नेपाली काँग्रेस दार्चुलाले प्रतिनिधि सभा र प्रदेश सभा निर्बाचनको लागि उम्मेदवारी टुंग्याएको छ । दार्चुलाबाट सिफारीस भएका नामहरुमा काठमाण्डौमा लामो छलफलपछि काँग्रेसले नाम फेरबदेल गर्दै उम्मेदवारी टुंग्याएको हो ।

दार्चुलाबाट प्रतिनिधि सभाको लागि प्रत्यक्षतर्फ सिफारिस भएका काँग्रेस केन्द्रीय सदस्य एवं पूर्व मन्त्री दिलेन्द्र प्रसाद बडु समानुपातिकमा गएका छन् । काँग्रेसले प्रतिनिधि सभाको लागि महाधिवेशन समिति सदस्य विक्रम सिंह धामीलाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएको छ । धामीलाइ काँग्रेस दार्चुलाले प्रतिनिधि सभाको लागि समानुपातिक र प्रदेश सभा अन्तर्गत क्षेत्र नम्बर २ को लागि प्रत्यक्षमा सिफारिस गरेको थियो ।

यस्तै प्रदेशसभा क्षेत्र नम्बर १ को लागि काँग्रेस पार्टी सभापति ललितसिह बोहरा र क्षेत्र नम्बर २ को लागि जगदीश बहादुर पालको नाम टुंगो लागेको छ । साथै प्रदेश सभा समानुपातिक तर्फ नन्दा वम र मदन गिरीको नाम टुंगो लागेको काँग्रेसले जनाएको छ ।

नेता बडु यस अघि संविधान सभा निर्वाचन २०६४ मा माओवादी केन्द्रका उम्मेदवार लक्ष्मणदत्त जोशी र ०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा एमालेका उम्मेदवार गणेश सिंह ठगुन्नासँग पराजीत भएका थिए । यस पटक प्रतिनिधि सभाको लागि प्रत्यक्ष तर्फ उम्मेदवार सिफारिस भएपनि एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धन बनेपछि बडु प्रत्यक्षबाट पछि हटेका हुन् ।

पटक पटक जिल्लाबाट निर्वा्चित हुँदा मन्त्री बनेपनि बडुले पछिल्लो संविधान सभाको लागि भएका निर्वाचनमा पराजय व्यहोरेका थिए । काँग्रेस कार्यकर्तामा स्थानीय तह निर्वाचनमा दार्चुलामा बहुमत स्थान जितेका छन् । जिल्लाका ९ तह मध्ये ५ तहमा प्रमुख र ४ तहमा उपप्रमुख विजयी भएका थिए । तर बाम गठबन्धन बनेपछि काँग्रेस पार्टीमा प्रवक्ता समेत रहिसकेका, बर्तमान केन्द्रीय कार्यसम्पादन समिति सदस्य बडु पछि हटेका हुन् ।

पछि हट्नु नै सबैभन्दा बुद्धिमानी हो । वर्तमानको परिप्रेक्ष्यमा युवाहरु अर्थात् दोश्रो पुस्ताले स्थान पाउनु पर्ने जताततै भनाई रहि आएको छ भने अर्काे तर्फ जेष्ठ नागरिक भइसकेका उम्मेदवारहरुले दौडधुप गर्न र परम्परा अनुसार नै जनताले पनि बुढापाखालाई पर सार्ने नीति चलेअनुसार स्वइच्छाले नयाँ पुवा पिँढीलाई अगाडी जान दिनु उपयुक्त नै देखिन्छ । जुनसुकै व्यक्तिले उम्मेदवारी दिएपनि मत दिदा खेरी नेपाली जनताको स्वविवेकी अधिकार जनता माथि नै निहित रहेकाले कुनैपनि व्यक्तिले निराश र हर्ष हुने कुरा छैन । यदि खराब मान्छेलाई मत दिएमा जनता स्वयंले निराश हुने स्थिति आउँछ । सहि मान्छेलाई मत दिएमा जनताले प्रफुल्ल हुने हुदा सहिलाई मत दिनुपर्ने देखिन्छ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh