ई – दिशानिर्देश

अन्तरवार्ता

६ माघ २०७४, शनिबार
अन्तरवार्ता

भिमदत्त नगरपालिका वार्ड नं. ५ वनखेत निवासी समाजसेवी दिवान आग्री सँग दिशानिर्देश कञ्चन साप्ताहिकका प्रेस प्रतिनिधि बलदेव अवस्थी सँग भएको भेटवार्ताका केही सम्पादित अंशहरुः

पृथ्वीनारायण शाह, राजा महेन्द्र र वीरेन्द्रका शालिक तोड्नु र तोड्नेलाई तपाई के भन्न चाहनु हुन्छ ?
पृथ्वीनारायण शाह, राजा महेन्द्र र वीरेन्द्र नेपालका जग इतिहास पुरुष हुन् । उहाँहरुको यो देशमा धेरै योगदान रहेको छ । इतिहास पुरुषका शालिक कहिले पनि तोडफोड गर्नुहुदैन । भोलीका पिढीँहरुले पनि थाहा पाउनु पर्छ इतिहास के हो भनेर । राजा महाराजका मात्रै नभएर शहिद इतिहास पुरुषका शालिक तोडफोड गर्नुहुदैन । शालिक तोडफोड ग¥यो भने देशमा संकट आउँछ ।

तपाईले भारत नेपालको सीमाना गड्डाचौकीमा प्रवेशद्वारको छाना राख्नु बाँकी राखेर किन छोड्नु भयो । के कसैले सीमाना त्यहाँ होइन भन्यो वा अन्य केही भएको हो ? अब त्यो प्रवेशद्वार कहिले पुरा गर्नुहुन्छ वा हुदैन ? त्यसबारेमा सरकार र नगरपालिकाहरुको के भनाई रहेको छ ?
वि.सं. २०६१ चैत्र १ गतेका दिन माओवादीहरुले मेरो घरमा बम विष्फोट गरी मेरो घर भवन विस्फोटबाट ध्वस्त भएकाले सो समय देखि मेरो आर्थिक अवस्था कमजोर रहेकाले त्यसको काम रोकिएको हो । अब त्यसको काम छिट्टै सुरु हुनेछ ।

देश ठाउँको इतिहास मेटाउने व्यक्ति तथा सरकारलाई तपाई के भन्नुहुन्छ ?
देश ठाउँको इतिहास मेटाउने व्यक्ति होस् वा अरु कोही, त्यस्ता व्यक्ति यो देशका नासुर छन् । त्यस्तालाई चिनेर नङ्ग्याउनु पर्छ ।

महेन्द्रनगर नगरपालिकाको इतिहास मेटाउने, महेन्द्रनगर नगरपालिकाको नाम बदली भिमदत्त नगरपालिका राखेकोमा तपाईको के प्रतिक्रिया छ ?
महेन्द्रनगरको नाम कसैले पनि मेटाउन सक्दैनन् । यो इतिहास रहिआएको छ । यसको नाम पहिला घुसुटि बजार थियो । महेन्द्र राजाले यहाँ बसोबास गराई राजाको नामबाट महेन्द्रनगर राखेका हुन् । कसैको नाम मेटाएर अरुको नाम राख्नु मूर्खपन हो । त्यस्ता व्यक्ति यो देशका शत्रु हुन् ।

जातिवादको कुरा गर्दा दमाई, कामी, लुहार, सार्की, पार्की, मधेशीहरुलाई ६० वर्षको उमेरमा जेष्ठ नागरिक मानेको छ भने जोशी, भट्ट, कठायत, चन्द, अवस्थी जस्ता जातिहरुलाई ७० वर्ष पछि मात्र जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता दिएकोमा के यो कानून संगत छ ?
यो गलत छ । ६० वर्ष पुरा भएपछि सबैले सामाजिक सुरक्षा भत्ता पाउनुपर्छ । चाहे दलित हुन् वा गैर दलित सबैलाई एक सरह हुनुपर्छ ।

दिवान अाग्री

तपाईले मिडिया मञ्च नेपालको स्थापना गर्ने प्रेरणा कसरी पाउनु भयो ?
देश र जनताको लागि यहाँका जल्दाबल्दा समस्याहरुलाई लिएर सञ्चार माध्यम द्वारा जनताहरुलाई सुसुचित गर्नका लागि र सम्बन्धित निकालयलाई घचघचाउन मिडिया मञ्च नेपालको स्थापना गरेको हुँ र यहाँका पत्रकारहरु तथा मिडिया सेन्टरहरुलाई जमघट गराउने थलो पनि हो ।

तपाई २०७४ को प्रथम प्रदेश सभाको सदस्यमा उम्मेदवार हुनुभयो । के तपाईले पनि संघीयतालाई मन पराएकै हो ?
संघियतालाई मन पराउने र नपराउने होइन । म त देश र जनताहरुको हकहितका लागि प्रथम प्रदेश सभाको सदस्य उम्मेदवार भएको हँु । अब त्यसका बाबजुत कसैले केही भन्छन् भने मेलै केही भन्नु छैन ।

महेन्द्रनगर बजारको दक्षिण क्षेत्रमा रहेको पञ्चायत स्मारक पार्कको अवस्था हेर्दा कस्तो लाग्छ ?
पार्क राम्रो हो, त्यसको राम्रो व्यवस्था भएको छैन । त्यसमा सरोकारवालाको ध्यान जानुपर्दछ र व्यवस्थित गर्नुपर्छ ।

जनताको जनमत विना हिन्दु राष्ट्र, संबैधानिक राजसंस्था २÷४ जनाको लहडले हटाउनु के जायज र प्रजातान्त्रिक अवस्था थियो ?
त्यसको लागि जनमत संग्रह गर्नुपर्छ तब मात्र ती मुद्दाहरुबारे जनताको धारणा थाहा हुन्छ ।

गाईको दुध र गहुत खाई अन्तमा रातीको समयमा थागेका गाई बाच्छी छोड्नेहरुलाई के भन्न चाहनुहुन्छ र त्यसमा स्थानिय निकायको भुमिका के हुनुपर्छ ?
यो कुराको सजिलो तरिका छ । छाडा गाई गोरुहरुको नियन्त्रणका लागि नगरपालिका भन्दा पनि हामी सबै जनताहरुले छाडा गाई गोरु छाडेका हौं, सबै जनताहरुले एक घर एक गाई प्रत्येक नागरिकले राख्यो भने छाडा गाई गोरुको समाधान हुन्छ किनभने यी छाडा गाई गोरुहरु यहीका व्यक्तिहरुले छाडेका हुन् । प्रत्येक व्यक्तिहरुले एक घर एक गाई पाल्नुपर्छ । त्यसपछि नगरपालिकाले सबैको घरघरमा गई गाई–गोरुको लगत लिनुपर्छ । जुन व्यक्तिको घरमा गाई–गोरु छैन त्यस्ता व्यक्तिलाई कारवाही गर्नुपर्छ र जुन व्यक्तिले गाई पालेको छ त्यस्ता व्यक्तिलाई सम्मान र पुरस्कार दिनु पर्छ । यो काम स्थानिय निकायको हुनुपर्छ ।

तपाई मध्यम वर्गीयको परिवारमा जन्मेर पनि समाज सेवामा लाग्ने प्रेरणा को बाट पाउनु भयो ?
मैले त्यो सोचेको छैन । कोही सानो होला, कोही ठूलो । मैले समाजको काम गर्ने हो । देशको सेवा गर्ने हो । मलाई त्यति मात्रै थाहा छ । मैले सबैलाई बराबर मानेको छु ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh