ई – दिशानिर्देश

मानसखण्ड जागरण अभियानको एक दशक

५ चैत्र २०७३, शनिबार
मानसखण्ड जागरण अभियानको एक दशक

वि.सं. २०६१ साल असौज २३ गते महेन्द्रनगरको मदन चौक (छतरी चौराहा) बाट मानसखण्ड जागरणको अभियानको श्रीगणेश गरिएको थियो । मानस साहित्य समागम नामकरण गरी विभिन्न कविकवयित्रीहरु द्वारा स्थानिय भाषामा लेखिएका सिर्जनाहरुलाई प्लेकार्ड बनाएर प्रदर्शन गरिएको थियो जसको संयोजक पंक्तिकार थियो भने कार्यक्रमको समुद्घाटन विहान ७ बजेर ५५ मिनेटमा इतिहास एवं वरिष्ठ विद्वान बुद्धिजीवि प्राज्ञ डा.देवीप्रसाद ओझा एवं सुदूरपश्चिम क्षेत्रमा पत्रकारिताको भीष्म पितामह नामले प्रसिद्ध वरिष्ठ पत्रकार एवं सम्पादक श्री रामबहादुर चन्दले संयुक्त रुपमा गर्नुभएको थियो ।
वि.सं. २०३७ साल असौज २३ गतेका दिन तत्कालिन राजा वीरेन्द्र सरकार द्वारा पाँचौ प्रदेश अर्थात् विकास क्षेत्र घोषणा गरेका थिए । यसै प्रदेशलाई २०७२ को नेपालको संविधानले समेत निरन्तरता दिएको छ । अर्काे अर्थमा भन्नुपर्दा वर्तमानको ७ नं. प्रदेशको स्थापना २०३७ असौज २३ गते भएको थियो । हुन त यस प्रदेशको प्राचिन वा वैदिक कालमा पुग्छ । वेदमा समेत ‘सितासिता संहिता’ तथा ‘मानस एत्य’ भन्ने शब्द प्रयोग भएकाले यो प्रदेश वैदिक कालमा पनि यो वा त्यो रुपमा अस्तित्वमा थियो । सिता अर्थात् सेती कर्णाली, असिता अर्थात् काली सरयूको बीचको भुभाग भन्ने अर्थ ‘सितासिता संहिताम्’ को लाग्छ भने मानसखण्डमा आएर भन्ने अर्थ ‘मानस एत्य’ को लाग्छ । त्यसैले वर्तमानको ७ नं. प्रदेश वैदिक कालिन ‘मानस’ पौराणिक एवं ऐतिहासिक ‘मानसखण्ड प्रदेश’ हो । यो कुरा मैले भनिरहनु र लेखी रहनुपर्ने आवश्यकता छैन किनभने पङ्क्तिकारले मानसखण्ड प्रदेशको धर्म, संस्कृति, कला, साहित्य, संस्कार एवं परम्पराको संरक्षण, सम्बद्र्धन तथा प्रचार प्रसारका लागि ‘मानसखण्ड जागरण अभियान’ चलाएको एक दशक भन्दा बढी भइसक्यो । नेपालमा बस्ने विभिन्न जातजातिले आफ्नो थातथलोको दाबी गरी रहेको बेला नेपालको सबैभन्दा प्राचिन वर्ग तागाधारी अर्थात् ब्राह्मण आदि सनातन सम्प्रदायका चार जातिको थातथलो कहाँ हो त ?
नेपाललाई केक काटेर बाडे जस्तै कथित प्रगतिशील नेताहरुले अमुक अमुक जातिको यो भनेर बटबारा गरी दियो तर जो यहाँको मुल जाति हो त्यो नै सुकुम्बासी भयो । उसको लागि कुनै ठाउँ नै राखिएन । अनि मैले मेरो अस्तित्व खोज्नु प¥यो । कतिपय मगज विग्रेकाहरुले भन्यो ‘ब्राह्मण आदि यहाँका आदिबासी होइनन् यो देशका होइनन्, सिन्धु पारीबाट आएका हुन् ’ यसप्रकारको कपोलकल्पित इतिहास लेख्ने नेपाली इतिहासकारहरुले एकचोटी राम्ररी वैदिक साहित्यको अध्ययन गर्न जरुरी छ । अनि मात्र थाहा हुनेछ संसारमा पहिलो चोटी मानवको श्रृष्टि सुमेरु जसलाई कैलाश भनिन्छ त्यसको नजिक मानसमा भएको हो । दानव दुबै श्रृष्टि यही मानसरोवर एवं राक्षसको उत्पत्ति भएको स्थल राक्षसतालका रुपमा देख्न सकिन्छ । समयको गतिसँगै मानसरोवर र राक्षसताल घट्दै गएको तथ्य भूगर्भविद्हरुले भन्दै आएका छन् । हजारौं वर्षपछि आज अस्तित्वमा रहेका मानस सभ्यता र दानव सभ्यताका केन्द्रविन्दु यी दुबै ताल पुरिएर जानेछन् । जसरी कुनै समयमा भारतवर्षमा सरस्वती नदीको ठूलो महत्व र अस्तित्व थियो, आज उक्त नदी शोध–खोजको विषय बनेको छ । ‘नासतो विद्यते भाव नाभावो विद्यते सत’ सत्यको कहिल्यै नाश हुदैन, असत्य धेरै दिन चल्दैन, सूर्यलाई हत्केलाले ढाक्न सकिन्छ दुई आँखाको लागि मात्र तर तेस्रो आँखाले सूर्य देखेकै हुन्छ किनभने सूर्य सत्य हो । त्यसको जन्म मानसको गर्भबाट भएको हो । अब एउटा रेखाचित्र कोर्न जरुरी छ । मानसखण्ड मानिसको उत्पत्तिको थलो हो । सबै मानिसहरुले यो बुझ्नु जरुरी देखिन्छ विशेष गरेर बुद्धिजीवि वर्गले । अब बुझेर पनि बुझ पचाउनु हुदैन किनभने अब मानसखण्ड जागरण अभिायनले सागरको रुप लिएको छ जनजनको शब्द बनेको छ । आज मानसखण्ड नामका पत्रपत्रिका, पञ्चाङ्ग, संघसंस्था, प्रतिष्ठान, व्यापार व्यवसाय तथा सडक टोलको नामकरण गरिदै छ । कांग्रेस, एमाले, माओवादी, राप्रपा, मधेशवादी दल लगायत थारु समुदाय समेतले मानसखण्ड विशेषता र विशिष्टतालाई बुझिसकेको छ । त्यसैले अब ७ नं. प्रदेशको मौलिक नाम ‘मानसखण्ड प्रदेश’ नै हो भनेर भन्नुपर्ने आवश्यकता छैन । यस ‘मानस प्रदेश’ नाम भित्र उत्तरका सौका व्यासी, दक्षिणका थारु, पूर्वका राउटे लगायत सम्पूर्ण जाति, जनजाति, दलित, आदिबासी सबै अटाएका छन् । सबैको लागि सर्वस्वीकार्य र सर्वमान्य नाम हो किनभने हामी सबै मानिस हौं एक दशक भन्दा पहिले चलेको जागरण अभियानले आज मूर्त रुप लिदैछ । मानसखण्ड प्रदेशको पौराणिक इतिहास समेटिएको ‘मानसखण्ड संहिता’ नामक प्रमाणिक एवं विशाल ग्रन्थ बजारमा आएपछि यस अभियानको गतिहरु अझ बढेको छ । मानिसको अस्तित्व रक्षाका लागि यो अभियानको कहिल्यै पनि अन्त हुने छैन, चलिरहने छ, चलिरहने छ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh