पाकिस्तान र भारत जन्म देखि परस्पर विरोधी हुन् तर नेपालले सर्वस्व गुमाएर पनि भारत सितको मित्रता छातीमा ढुङ्गा राखी मुटुको घड्कन नियन्त्रण गरेर पनि सही रहेको छ भन्ने कुरा भारतले बुझ्नुपर्छ ।
नेपाल र भारतको मित्रता अमर रहोस् भनी नेपाली जनताले चाहदा चाहदै पनि नेपाललाई हेप्ने गर्नु उसकै लागि अहित हुनेछ । पाकिस्तान, बंगलादेश अर्थात् जहाँ जहाँ अन्तरराष्ट्रिय सीमा छन् त्यहाँ त्यहाँ सीमा विवाद गरिरहन्छ । पाकिस्तान र चीन सित त युद्ध नै भएका हुन् तर नेपाल र भारतको त्यस्तो स्थिति आयो भने विश्वयुद्धको सिलान्यास हुनेछ । त्यसपछि नेपाल र भारतलाई हुने फाइदा तेस्रो देशलाई हुनेछ । कञ्चनपुरको पुर्नवास क्षेत्रमा भारतीय प्रहरीले चलाएको गोली द्वारा सीमा विवाद सुल्झनुको सट्टा गोविन्द गौतमले शरहद प्राप्त गर्नु प¥यो । क्षति नेपालको मात्र होइन भारतलाई झन् ठूलो क्षति हुने भएकाले नेपाल प्रतिको धारणामा इमानदारिता देखिनुपर्ने हुन्छ ।
नेपाल भारतको सीमा विवाद सम्म नेपाली नेताहरुले टुङ्ग्याउन सकेको छैन । उ एक्लो मान्छे जंगबहादुर राणा जसले आफ्नै बाहुबल द्वारा जंगे पिल्लर नेपाल अंग्रेजको सीमानामा राख्यो ती पिल्लरहरुलाई अंग्रेजले सार्ने तथा भत्काउने काम गरेको थिएन तर भारतले गर्छ, किन गरेको यसको समाधान के हो भनेर खोज्ने काम २०४७ साल देखि आज २०७३ सम्म किन भएन, यसको दोषी नेपाली नेताहरु छन् र जवाफ दिनुपर्छ । वर्तमानको परिस्थितिमा नयाँ आर्जन गर्नुछैन, कसैबाट खोस्नु छैन । सीमाना सार्नु छैन, हाम्रा पूर्खाले कमाएको आली कान्लाको संरक्षण गर्ने काम मात्र हाम्रा नेताहरुको दायित्व रहन गएको छ । आफ्नो दायित्वबाट बिचलित हुनु नै असक्षमता प्रकट हुनु हो ।