ई – दिशानिर्देश

वि.सं. २०७४ मा मन्त्रिमण्डलको राजा को ?

१२ चैत्र २०७३, शनिबार
वि.सं. २०७४ मा मन्त्रिमण्डलको राजा को ?

–आचार्य घनश्याम लेखक

अनन्तिका नरेश राजाधिराज वीर विक्रमादित्य द्वारा स्थापित सम्बतको नाम विक्रम संवत हो । इस्वी सन् भन्दा करिब ५७ वर्ष पहिले स्थापित यसलाई हिन्दु सम्बत पनि भनिन्छ । हुन त हिन्दूहरुका अनेक सम्बतहरु प्रचलनमा छन् तर सबैभन्दा बढी लोकप्रिय एवं प्रमाणित तथा वैज्ञानिक सम्बत विक्रम सम्बत हो । यस सम्बतमा चन्द्र अनुसार तिथि, सूर्य अनुसार मिति एवं नक्षत्र अयन तथा ऋतुहरु परिवर्तन हुन्छन् । ‘चैत्रमासि जगत्र ब्रह्मा ससर्ज प्रथमेअहनि, शुक्लपक्षे समग्रं तु यदा सूर्याेदये सति’ अर्थात् चैत्रशुक्ल प्रतिपदाको दिने सूर्याेदयको समयमा ब्रह्माजीले संसारको सृष्टि गरेका छन् । यसैले यस दिन अपुछो दिन स्वयं सिद्ध मुहूर्तका रुपमा लिइन्छ । यस दिन जुन बार पर्दछ त्यस बारको स्वामी त्यस वर्षका राजा
हुन्छन् ।
सम्बत २०७४ को शुक्लपक्षमा प्रतिपदा मंगलबारका दिनकाले यस वर्षका राजा मङ्गल हुने देखिन्छ । श्रीमानसखण्ड पञ्चाङ्ग, श्रीगणेश मार्तण्ड पञ्चाङ्ग (मुरादावादी), दिवाकर पञ्चाङ्ग जस्ता प्राचिन पद्धतिमा आधारित भएर गणना गरिएका अधिकांश पञ्चाङ्गहरुले मंगलबार नै प्रतिपदा निर्धारण गरेको छ भने नेपाल पञ्चाङ्ग निर्णायक समिति संग आबद्ध पञ्चाङ्गहरुले बुधबारका दिन प्रतिपदा निर्धारण गरेका छन् । ज्योतिष शास्त्र अनुसार प्रतिपदा सूर्याेदयको समयमा एक मुहूर्त भन्दा कम भए औशी कै दिन प्रतिपदा अर्थात् घटस्थापना गर्नुपर्छ । बैशाख संक्रान्तिका दिन पर्ने बार नै त्यस वर्षको मन्त्री हुन्छ । ज्योतिष विज्ञानको यो मन्त्रीमण्डलमा दश मन्त्रालय हुनुका साथै राजा र प्रधानमन्त्री सहित ६ सदस्यीय मन्त्रीमण्डल हुन्छ जसअनुसार वि.सं.२०७४ को मन्त्रीमण्डलमा क्रुर, हिंसक एवं युद्धप्रिय ग्रह ‘मंगल’ यस वर्षकै राजा ग्रह हो । बृहस्पतिलाई रक्षा मन्त्रालय एवं जलस्रोत मन्त्रालयको जिम्मेवारी दिइएको छ भने सेना तथा वातावरण मन्त्रालय चतुर एवं राजकुमार ग्रह बुधको भागमा परेका छन् ।

त्यस्तै वित्त मन्त्रालय शनि ग्रह, भुगर्भ विभाग सूर्य ग्रह एवं धान्य (खाद्य) विभाग शुक्र ग्रहलाई दिइएको छ । यसप्रकारको आकाशीय मन्त्रीमण्डलमा १० विभाग मध्ये ७ विभाग शुभग्रह र ३ विभाग श्राप ग्रहको पक्षमा भएको सामान्यता नयाँ वर्ष मिश्रित फल दिने देखिन्छ । साधारण नामको सम्वत्सर भएकाले राजनैतिक अशान्ति, टकराव, हिंसा, आगजनी, भुकम्प, विद्रोह, सीमा विवाद भइरहने देखिन्छ । दैवीय आपदा, अतिवृष्टि, अनावृष्टि र कही कही सुख्खा तथा खडेरी पर्ने देखिन्छ । यति हुदाहुदै पनि सौहार्दता र सामञ्जस्यतामा कमी आउने छैन । चीन, भारत, रुस, अमेरिका जस्ता देशहरु बीच शीतयुद्ध चलिरहने छ । नेपालको कुरा गर्दा २०६५ साल ज्येष्ठ १५ गते रात्रि ११।२५ मा गणतन्त्र नेपालको जन्म भएको देखिन्छ भने २०७२ कार्तिक ३ गते बेलुका ५।५५ मा संविधानको घोषणा भएको आधारमा संबैधानिक गणतन्त्र नेपालको ग्रहदशा माथि कुण्डलीमा देखिएअनुसार रहेको पाइन्छ ।
यी दुबै कुण्डलीको अध्ययन गर्दा नेपाललाई साढेँसाती लागेको छ । अझै एक देखि दुई वर्षसम्म नेपालले आन्तरिक तथा बाह्य दुबै प्रकारको हस्तक्षेप सहन गर्नु पर्नेछ । तराई मधेशमा देखिएको समस्या कार्तिक देखि मंसिर पुष २०७४ सम्म रहीरहने छ । यो क्षेत्र नेपालबाट अलग हुने
छैन । यसमा कसैले पनि शंका नगरे हुन्छ किनभने नेपालको कुण्डलीमा कुनै पनि दृष्टिले नेपालको कुनै भाग छुट्टिन सक्छ भन्ने कुरा देखिदैन । महिलाहरुका लागि भविष्यको नेपालमा अत्यन्तै सम्मानजनक स्थान देखिन्छ । जन्मको राहु भएकाले उचित मञ्चमा आफ्नो कुरा उठाउन नसक्ने
राष्ट्रका रुपमा देखिन्छ । २०७४ साल नेपालका लागि मिश्रित फल दिने देखिन्छ ।
वर्षको उत्तरार्धतिर शान्ति आउन सक्छ । सामान्यतया छुटफुट घटना, हत्या, हिंसा बाहेक धेरै ठूलो दुर्घटना चाही हुनेवाला छैन । समग्रमा हेर्दा आगामी वर्ष नेपाल लगायत विश्वका लागि ६० प्रतिशत उपलब्धीमुलक वर्षका रुपमा रहने छ, बाँकी भगवत इच्छा ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh