ई – दिशानिर्देश

नदी कटानबाट जोगाउन जैविक तटबन्ध

५ बैशाख २०७८, आईतवार
नदी कटानबाट जोगाउन जैविक तटबन्ध


दिशानिर्देश समाचार
महेन्द्रनगर, ४ बैशाख
नदि कटानबाट जोगाउन कञ्चनपुरका स्थानियले नदि छेउमा वर्षा हुनु अघि नै जैविक तटबन्ध गरेका छन् । जिल्लाको कृष्णपुर नगरपालिका–३ बडबैका टोलका बासिन्दाले वर्षायाममा नदीले कटान गरी खेतीयोग्य जमिन बगाउने भएकाले त्यसलाई रोक्न जैविक तटबन्ध गरेका हुन् ।
तटबन्ध निर्माणका लागि ८० परिवारले श्रमदान गरेको जनाइएको छ । चालु आर्थिक वर्षमा बडबैका टोलका बासिन्दाले नगरपालिका र नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरले सञ्चालन गरेको एमरेड परियोजना अन्तर्गत १० लाख रुपैयाँ लागतमा करिब ६०० तटबन्ध निर्माण गरेका हुन् । नदीले बर्सेनि खेतीयोग्य जमिन कटान गर्दै आएकाले आगामी वर्षायाममा सम्भावित जोखिम रहेको क्षेत्रमा बाँसको जाली बुनेर तटबन्ध गरिएको जनजागरण सामुदायिक विपद् व्यवस्थापन समितिका अध्यक्ष आशाराम वडायकले बताए । ‘नदीले जग्गा कटान गर्दा टोलका ३५ परिवारको उठिवास भएको थियो’ उनले भने, ‘त्यस बेला आएको ठूलो बाढीले जग्गामात्रै बगाएन धेरैको घर समेत बगायो ।’ नदी नियन्त्रणका लागि थुप्रै निकायमा धाउँदा पनि सकैले नसुनेको स्थानीयको गुनासो छ ।
रेडक्रसले सहयोग गर्ने तत्परता देखाएपछि नगरपालिकाले समेत सहयोगका हात अगाडि बढाएको छ । २०६४ असोज ४ मा लगातार चार दिन परेको ठूलो पानीका कारण नदीमा आएको बाढीले बडबैका टोलमा ठूलो क्षति पु¥याएको थियो ।
नदीले जग्गा, घर बगाउन थालेपछि यस क्षेत्रका बासिन्दाले बस्ती छाडेर नजिकैको सामुदायिक वनमा आश्रय लिएका थिए ।
नदी किनारामा घाँस रोप्दा भूक्षय पनि रोकिएको स्थानीयहरू बताउँछन् । तटबन्ध निर्माणका लागि सामूहिक श्रमदान गर्ने कार्यले सामूहिक भावनाको समेत विकास भएको तारा रानाले बताउँछन् । गाउँ घरमा हुने विकास निर्माण, सांस्कृतिक, धार्मिक र सामाजिक कार्यमा सामूहिकताको भावना विकास हुँदै गएको उनको भनाइ छ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh