ई – दिशानिर्देश

भीमदत्त नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

५ बैशाख २०७८, आईतवार
भीमदत्त नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

दिशानिर्देश समाचार
महेन्द्रनगर, ४ बैशाख
भीमदत्त नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका एवम् दिगोपना घोषणा गरिएको छ । भीमदत्त नगरपालिका कार्यालयमा औपचारिक कार्यक्रम गरी पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको हो ।
जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख फैरु तामाङ्गको प्रमुख आतिथ्यमा घोषणा सभा गरिएको छ । सभामा प्रमुख तामाङ्गले भीमदत्तलाई पूर्ण खोप सुनिश्चितता पालिका एवम् दिगोपना घोषणा गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि तामाङ्गले भीमदत्त पूर्ण खोप पालिका सुनिश्चितता नगरपालिका घोषणा गरी सराहनीय कार्य गरेको उल्लेख गर्दै अन्य पालिकाले पनि शिक्षा लिनु पर्ने बताए ।
भीमदत्त नगरपालिकाको नगर खोप समन्वय समितिका संयोजक मेयर सुरेन्द्र विष्टको अध्यक्षतामा घोषणा सभा गरिएको छ । घोषणा सभामा उप मेयर सुशिला चन्द सिह जनप्रतिनिधि, नागरिक समाज, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम् सेविका लगायतका सहभागी भएका छन् ।
भीमदत्त नगरपालिकाका सबै १९ ओटै वडामा बालबालिकालाई खोप लगाएपछि पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।
नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका एवम् दिगोपना बनाउन स्वास्थ्य शाखाबाट कार्यक्रम सञ्चालन गरिएको थियो ।
नगरपालिकाले घरदैलो गरी खोप लगाउन छुटेका बालबालिका पत्ता लगाएर सबैलाई खोप लगाएको थियो । घरदैलोमा १९ वडामा भेटिएका एक हजार ६ सय दुई जनालाई खोप लगाइएको छ । नगर खोप समन्वय समितिका प्रमुख मेयर विष्टले जन्मदेखि दुई वर्षमुनिका सबै बालबालिकालाई खोप लगाएपछि पूर्ण खोप सुनिश्चिता पालिका घोषणा गरिएको बताए ।
‘बालबालिकालाई खोप लगाउने कुरा निकै महत्वपूर्ण छ, त्यसका लागि नगरपालिका कार्यालय सधैं सक्रिय रुपमा अघि बढ्यो, त्यसैको फल स्वरुप आजको दिन (घोषणा) सम्म पुगेका छौ’ उनले भने,‘यसमा साथ सहयोग दिने सबैलाई धन्यवाद दिन्छु ।’
भीमदत्तको सबै वडामा चार हजार तीन सय ४३ बालबालिका खोप नलगाएको भेटिएका थिए । त्यसमा ४१ बालबालिका दोस्रो
चरणको दादुरा रुबेला खोप लगाउनु छुटेको देखिएको थियो । दादुरा रुबेलाको खोप पहिलो ९ महिना र त्यसपछि १५ महिनामा गरी दुई पटक लगाइने गरिन्छ । घरदैलोमा क्रममा स्वास्थ्यकर्मीले १५ देखि २३ महिनासम्मका बालबालिकाले दोस्रो चरणको दादुरा रुबेला खोप लगाएको नलगाएको पत्ता लगाएका थिए । भीमदत्तको स्वास्थ्य तथा आधारभूत सरसफाई शाखाका स्वास्थ्य अधिकृत भीम सिह महराले दादुरा रुबेला सहित अन्य नियमति रुपमा दिइने सबै खोप बालबालिकालाई लगाइएको बताए ।
‘नगर खोप समन्वय समिति र वडा स्तरीय खोप समन्वय समितिको सहकार्यमा महिला स्वास्थ्य स्वयम् सेविका र स्वास्थ्यकर्मी परिचालन गरी छुटेका बालबालिकाको संख्या पत्ता लगाएपछि खोप लगाएका हौ’ उनले भने ।
कार्यक्रममा प्रमुख अतिथि तामाङ्ग र मेयर विष्टले सबै वडालाई पूर्ण खोप सुनिश्चितता पालिका एवम् दिगोपनाको प्रमाण पत्र समेत वितरण गरे ।
सामाजिक विकास समितिका सभापति सर्जन सुनारले स्वागत मन्तव्य राखेका थिए । स्वास्थ्य अधिकृत भीम सिह महराले कार्यक्रम सञ्चालन गरेका थिए ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh