ई – दिशानिर्देश

१५ नम्बर वडा कार्यालय भवनको उद्घाटन

१२ बैशाख २०७८, आईतवार
१५ नम्बर वडा कार्यालय भवनको उद्घाटन


दिशानिर्देश समाचार
महेन्द्रनगर, ११ बैशाख
भीमदत्त नगरपालिका १५ नम्बर वडा कार्यालयको भवन बनेको छ । भीमदत्त नगरपालिकाले एक करोड ६७ लाखमा वडा कार्यालय भवन बनाएको हो । भीमदत्तका सबै १९ ओटै वडाका वडा कार्यालय भवन बनाउने लक्ष्य अनुसार वडा कार्यालय भवन निर्माण गरिएको हो । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले शनिबार भवनको औपचारिक रुपमा उद्घाटन गरेका छन् ।
वडा कार्यालयको नव निर्मित भवनमा शिलालेख अनावरण गरी नगर प्रमुख विष्टले भवन उद्घाटन गरेका छन् । वडा कार्यालय भवनसंगै नव निर्मित आधारभूत स्वास्थ्य केन्द्रको भवन पनि उद्घाटन गरिएको छ ।
‘वडा वासीलाई यो नव निर्मित वडा कार्यालयबाट सहज रुपमा सेवा सुविधा प्रवाह गर्न सहज हुने विश्वास लिएका छौ’ उद्घाटन कार्यक्रममा मेयर विष्टले भने, ‘नगरका सबै वडामा वडा कार्यालय भवन निर्माण गरि रहेका छौ ।’ संविधानको व्यवस्था अनुसार सिहदरबारको अधिकार वडा कार्यालयमा मार्फत गाउँसम्म पुगेको उल्लेख गर्दै उनले नव निर्मित भवनबाट सेवा प्रवाह व्यवस्थित हुने बताए । कार्यक्रममा उप मेयर सुशिला चन्द सिहले वडा कार्यालय भवन निर्माण कार्य नगर वासिन्दाका लागि खुसीको क्षण भएको बताइन् ।
कार्यक्रममा विभिन्न वडाका अध्यक्षहरुले स्थानीय तह निर्वाचनपछि भीमदत्त नगरपालिकाले विकास निर्माणमा लिएको गतिलाई निरन्तरता दिनु पर्नेमा जोड दिए । कार्यक्रममा भीमदत्त नगरपालिका १२ का अध्यक्ष कृष्ण सिह देउपा, ८ का अध्यक्ष ध्वज बहादुर बहादुर विष्टले नगरको विकासका लागि सबै जनप्रतिनिधि एक भएर लागेको बताए ।
नेकप(एमाले)का पूर्व वडा कमिटी अध्यक्ष बिश्राम चन्दले वडाको विकासका लागि राजनीतिक दल सहित सबैले एक हुनु पर्ने
धारणा राखे ।
भीमदत्त नगर कृषक समन्वय समितिका संयोजक कृष्णदत्त भट्टले वडा कार्यालय भवनबाट वडा वासीले सहज रुपमा सेवा सुविधा पाउने विश्वास व्यक्त गरे । उनले किसानलाई मलखाद, सिँचाई, बालीको उचित मूल्य निर्धारण लगायतलाई स्थानीय सरकारले प्राथमिकता दिनु पर्नेमा जोड दिए । नेपाली काँग्रेसका युवा नेता खेमराज ऐरीले नगरको विकासमा सबै राजनीतिक दलहरु हातेमालो गरी जानु पर्ने बताए । वडा अध्यक्ष भीमदत्त बहादुर शाहुको अध्यक्षतामा गरिएको कार्यक्रममा भीनपा ११ का अध्यक्ष प्रेम प्रसाद जैसी, १४ का अध्यक्ष उत्तम बहादुर विष्ट, ४ का अध्यक्ष लक्ष्मीदत्त बोहरा, वडा सदस्यहरु दामोदर भट्ट, लक्ष्मी दमाई, नन्दराम भाट, पूर्व वडा अध्यक्ष किसन सिह घडेरी, सहकारीकर्मी प्रेम सिह भाट, युवा संघका केन्द्रीय सदस्य दिपक चन्द, नेपाल शिक्षक संघका सुदूरपश्चिम प्रदेशह संयोजक बिर्ख बहादुर मल्ल लगायतका सहभागी भए ।
वडा सदस्य दामोदर भट्टले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन प्राविधिक पवन लेखकले गरेका थिए । कार्यक्रमम वडा अध्यक्ष शाहुले स्थानीय तह निर्वाचनपछि वडामा गरिएको विकास निर्माण सहितको प्रगतिको जानकारी गराए ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh