ई – दिशानिर्देश

स्वाभीमानी व्यक्तित्व वरिष्ठ अधिवक्ता थानेश्वर प्रसाद भट्ट

२३ जेष्ठ २०७८, आईतवार
स्वाभीमानी व्यक्तित्व वरिष्ठ अधिवक्ता थानेश्वर प्रसाद भट्ट


बैतडी जिल्लाको द.न.पा. अलामा जन्मनु भएका थानेश्वर प्रसाद भट्टसँग मेरो पहिचान विरेन्द्र बहुमुखी क्याम्पस शाहिलेकमा २०२७ सालको एसएलसी परिक्षा दिने क्रममा भेट भयो । मेरा कक्षा शिक्षक प्रेमराज लेखकको साथमा परिक्षा सकिएपछि स्कुलबाट बाहिर आउने बेलामा भएको थियो ।
प्रेमराज लेखक मेरा कक्षागत गुरु र अंग्रेजी विषयको परिक्षा सकिएकै दिन उहाँ र मेरो केही कुरा अंग्रेजीमा नै हुँदा उहाँ खुसी हुँदै मेरो विद्यार्थी भनेर मेरो परिचय गराई दिएका हुन् । त्यसपछि म महेन्द्रनगर आउँदा झुलाघाटबाट संयोगबस दुवै एकै गाडीमा टनकपुरसम्म आयौं गाडीमा भिड थियो । बाटो कच्ची हुँदा विहान ५ बजे आएको गाडी साँझ ६ बजे टनकपुर पुग्यौ म एक साधारण हिमालय नामको होटलमा बसे एक रातको बसाई र खानाको रु २/५० थियो । उहाँ कहाँ बसे कहाँ गए त्यसबेला थाहा नभए पनि पछि थाहा भयो ल.को परिक्षा दिन काठमाडौं जानु भएका रहेछन् । त्यसपछि ल. फर्म खोलेपछि २०२८/०२९ सालतर्फ भेट भयो र राम्रो चिनजान भयो, त्यति बेला महेन्द्रनगरमा कानून व्यवसायी केवल २ जना थिए थानेश्वर प्रसाद भट्ट र धिरेन्द्र बहादुर विष्ट । तिब्र बुद्धि साधारण रहनसहन उच्च विचार भएकाले उहाँको मान सम्मान श्रेष्ठ थियो । अनुशासन, ऐन नियम र समयको हिमाइती थिए । गरिव सेवाग्राहीलाई निशुल्क तथा सुविधा युक्त फिस लिए । सेवा दिने उनको बानी थियो । फिसको लागी कसैसित पनि करकाप गर्नु भन्दा नभए भैगो भन्दथे ।
२०४८ तर्फ उहाँलाई राजा विरेन्द्रबाट क्षेत्रिय माननीय न्यायाधिशमा नियुक्ति भए, नियुक्तिका ४÷६ महिना पनि वितेका थिए कि थिएन कुनै व्यक्तिले नियुक्तिको लागी हामीले सिफारिस गरेका थियौं भन्ने कुरा सार्वजनिक भयो । त्यसमा उनको स्वाभिमानमा चोट पुग्यो, यदि पार्टीको सिफारिसमा भएको रहेछु भने म बस्दैन भनि राजिनामा पत्र राजा विरेन्द्र समक्ष बुझाए, राजाले राजिनामा नदेउ त भनेछन् उहाँको अनुरोधमा स्वीकृत पनि भयो । त्यस कुराले अधिराज्यभरी हाई हाई फैलियो र उनको स्वाभिमान आत्मगौरव उच्च विन्दुमा पुग्यो । उहाँ समयलाई मुल्यवान सम्झी रहन्थे । कही कुनै समारोहमा जाँदा तोकिएकै समयमा पुग्दथे । ३० मिनेटसम्म त बस्दथे त्यसबेला सम्म समारोहमा जिम्मेवारी व्यक्ति नआएमा समाजले केही सिकोस भनेर उठी बाहिर निस्की हाल्थे, पछि पछि उनलाई आमन्त्रण गरेको सभा ठीक समयमा बस्न थाल्यो ।
मैले २०६४ देखि दिशानिर्देश कञ्चन साप्ताहिक पत्रिका प्रकाशित गर्न थाले । धेरै पत्रिकाहरु आ–आफ्नो पार्टीगत विचारक व्यक्तिहरुका लेख राख्ने गरेको पाए तर मैले कुनै पनि राजनीतिक पार्टी नअंगालेकोले उहाँ जस्तै विद्वानका वाणीहरु जन सामु लैजाने अठोट गरे मैले स्व. थानेश्वर प्रसाद भट्ट सित अनुरोध गर्दा ठीक छ म लेख उपलब्ध गराउँला तर हरेक शुक्रबारको १ बजे मेरो कार्यालयबाट ल्याउनु पर्छ भन्दा म हर्षित भए उहाँका विचार पेज नं. २ मा राख्ने गर्यौं । मैले पनि दत्तचित्त भएर एक अंक पनि नछुटाई वर्षमा ५२ नै अंक प्रकाशित गरे ।
जव पत्रिका अनलाईन राखियो उहाँका विचार लेख पढ्ने व्यक्ति प्रत्येक हप्तामा १०/१५ हजारले हेर्ने गर्दथे ।
उहाँका लेखहरुमा अन्तिम लेख मिति २०७७/२/२५ मा प्रकाशित गरियो । उहाँको सम्मानार्थ आजको अंकमा पुनः प्रकाशित गरेको
छु । उहाँलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।

आवाज विहिनको आवाज
यस भौतिक जगतमा जे देखिन्छ सबै समय त्यो यथार्थ हुदैन, परिस्थिति बाध्यता समेतले अन्तरमनमा जे भए पनि देखाउनकै लागि भिन्न परिवेश हुने गर्दछ । मनमा खुसी भए पनि धेरै दुःख लागे जस्तो प्रदर्शन, आक्रोश भए पनि कलेजाको टुक्रा जस्तै भाव प्रदर्शन देखे भोगिएका छन्, त्यसो भएन भने जोखिमको खतरा उत्पन्न हुन सक्दछ । त्यसैले आवाज विहिनको आवाज समय चक्रले पैदा गर्दछ । यो स्वतः स्फूर्त रुपमा उद्रभाषित हुन्छ । यसका लागि यो र त्यो धार वाद हुदैन, वर्तमान समयले यो समाजमा उत्पन्न भइरहेको विष्फोटक अवस्था तर्फ संकेत गरी रहेको जस्तो सम्झेर केही अभिव्यक्त गर्न आवश्यक लागेको छ ।
आत्म रक्षाका लागि नभएको नलागेको पनि स्वयम् यो र त्यो पक्षको वर्ग भित्र पर्नुपर्ने अन्यथा एकांकि जीवन जस्तो परिस्थिति प्रष्ट देखिने गरेको हुँदा यथार्थ परक सम्यक विश्लेषण गर्ने प्रयास हो । राजनीतिमा अनर्स सहित स्नातक अध्ययन गर्दा विविध राजनीति शास्त्री दार्शनिक विद्वानहरुका अभिमत अध्ययन गरेको थिए । मानव सभ्यताको क्रममा अनेक शिद्धान्त प्रतिपादन भए समयान्तरले ती विद्वानहरु मध्ये कतिपयले आफ्ना मान्यता हवाई उडान (Utopia) रहेछन भनि स्वीकारे । महान दार्शनिक ग्रीकका अफलातून (प्लेटो) ले जव सम्म शाशक दार्शनिक र दार्शनिक शाशक हुदैनन् तवसम्म जनताले दुष्टहरुबाट मुक्ति पाउँदैनन् भने, उनको (De republica) भन्ने चर्चित पुस्तक छ । उनकै शिष्य अरस्तु (एरिस्टोरल)ले आफ्ना गुरु प्लेटोको चर्को आलोचना गरेका हुन् । यथार्थ र कल्पना भिन्न रहेछ भनि स्वयम् प्लेटोले स्वीकारे विषय बस्तु सन्दर्भ सामग्रीका लागि मात्र उल्लेख भएको हो । साम्यवाद, बहुलवाद लगायतका विविधता नेपालमा जानी बुझि नै पैदा भए ? वा बाध्यता नकल के
हो ? यथार्थमा जे देखिन्छ त्यही हो या आवरण मात्र भनि शंका गर्ने प्रशस्त वातावरण बनेको छ । समय समयमा भएका आन्दोलन, विद्रोहका मूल कारण के हुन ? यसको खोजी नै भएन, ओल्लो घरको रामे पल्लो घरमा सर्यो भनेझै जति जोगी आए पनि कानै चिरेका मानवीय मुल्य त्याग समर्पण राष्ट्रभक्ति जन उत्तरदायित्व भन्ने शब्दहरु हवाई उडान सावित भए । गरीब जनताले देशको ९५ प्रतिशत जमात आक्रान्त छ । यिनका पीडा, अभाव निराशाको आवाज विहिनको आवाज बन्ने क्षमता नियत भएको वारिस मृगमरीचिका जस्तै हुन पुगेको छ । स्वयम् गरिबी देखे भोगेका पीडा अनुभूति गरेका संघर्षशील व्यक्तित्व मानि अपार जन विश्वास प्राप्तहरुबाट घात भएको छर्लङ्ग हुँदै गएको छ । सेवा भाव त ऐश्वर्य ठाटबाट विलाशी जीवनमा रुपान्तरित हुँदा आवाज विहिनको संख्या बढ्दै गएको छ । यिनका लवाई खवाई रहन सहन वैभव प्रदर्शनबाट अविश्वसनीय भएर विशाल जन समूह ठगिएको झुक्याईएको सम्झी निराशापुर्वक टोलाई रहेका छौं । हिजोका कट्टर दमनकारी रातारात क्रान्तिकारी जस्ता भए वास्तविक त्यागी आवाज हराएका प्राणीमा रुपान्तरित भई पश्चाताप सीवाय केही नरहनुको पीडा सेलाएर जादैन ।
कोरोनाले विश्वको मानव सम्भतालाई नै अभूतपुर्व रुपमा वर्गिकरण गराई सकेको छ । नेपाल यसबाट अछुतो रहने भ्रम हटी सकेको छ ।
१० अरब भन्दा बढी खर्च भएको र त्यो अझ बढ्ने भनिएको छ, यस्तो विपत्तिका बखत त्यसरी धमाधम खर्च हुन लागेको राष्ट्रिय धन वास्तवमा नै सदुपयोग भएको छ त ? राहतका नाममा ब्रहमलूट त भएको छैन ? भनि आशंका गरिनु स्वाभाविक लाग्दछ ।
सर्वहाराको अर्थ दयनीय भएर बाच्नै पर्ने भन्ने होइन तर एकलौटी रुपमा व्याज सहित असूल गर्दै आफू मात्र ऐश्वर्यमय जीवन देखिने गरी प्रदर्शन गराई रहने जनता भोकै मर्नुपर्ने लाचार आवाज विहिन भई रहदा विश्वका घटनाक्रम इतिहास र वर्तमान हेर्दा पुग्छ ।
घृणा अविश्वासको मूलमा बहुरुप नै हो भन्ने र गर्नेमा तादात्म्यता नभए विष्फोटक स्थितिका आधारशीला बन्ने
गर्छन । विश्लेषणहरुमा पनि बाध्यता र अतिवादको त्रास हुने गरेको छ । क्रान्तिकारी जस्ता लवज प्रयोग गर्ने त्यसको अन्यथा चर्चा गर्दा ठूलो जोखिम मोल्नु पर्ने वर्तमानको यथार्थाता हो । ठूला चर्का कुरा गर्ने धरातलीय यथार्थको छेउ टुप्पो सम्म नबुझ्ने वा त्यसको आवश्यकता नै नसम्झने प्रवृत्ति समाजमा व्याप्त छ । ऐतिहासिक कालखण्ड देखि वर्तमान सम्मका सबै प्रणाली अवलम्बन गरी सकिए अव भ्रमको खेती प्रभावी हुन सक्तैन । झण्डै करोड नेपाली भित्रिन सक्छन, ति नेपालीले तमाम संघर्ष कथा व्यथाका भुक्तभोगी हुने छन् । भाषण सपनाले मात्र जीवन निर्वाह हुने छैन ।
यो र त्यो वाद तर्फ लागेर मात्र सार्थक हुने समय गईसक्यो अव यो र त्यो आवरणमा आत्मरक्षा हुने छैन । भोको पेट अभावलाई शब्द जालले भेदन गर्न सक्तैन । संघर्षमय जीवनको कथा सुनाएर प्रसाद बाड्दैमा सन्तोष अभावपूर्ति विश्वास भरोसा जाग्ने वाला छैन । हिसाव किताव पनि मागिने छ त्यस्तो शक्ति सँगठित नहुन सक्ला तर आवाज विहिनको आवाज कतिसम्म भयानक हुन्छ संसारको ठूलो फ्रान्सेली राज्य क्रान्ति हेर्दा पढ्दा प्रष्ट हुन्छ ।
नेपालको स्थिति दिन प्रतिदिन विप्फोटक भइरहेको छ । आन्तरिक र बाह्य रुपमा पनि शासकहरुले आफ्नो आवरण बलियो पार्न सकेनन् । नाङ्गिने गरी कथा प्रकट भइरहेका छन् ।
राष्ट्रभक्तिको दावा गर्दै संविधान शंशोधन पेश गर्दा एकपछि अर्का फरक प्रस्ताव प्रकट हुनुले के देखाउँछ ? देखाउने राष्ट्रभक्ति आन्तर्य विषय भिन्न हो भनि जनमानसमा भ्रम परे आवाज विहिनको आवाज प्रकट हुन बेर लाग्ने छैन । नक्कली रक्षा कवज स्थायीत्व प्राप्त गर्न सक्तैन । आवाज विहीनको आवाज खोजी गर्ने चाहना र भावना यो भन्दा बढी खुलस्त गर्ने क्षमता पनि त छैन ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh