ई – दिशानिर्देश

लाखौं खर्च गरेपनि छाडा पशुचौपाया सडकमै, छैन कसैको चासोे

१० श्रावण २०७८, आईतवार
लाखौं खर्च गरेपनि छाडा पशुचौपाया सडकमै, छैन कसैको चासोे


दिशानिर्देश समाचार
महेन्द्रनगर, ९ साउन

पूर्वपश्चिम राजमार्ग क्षेत्रमा पर्ने सडकको बीच तथा आसपासहरुमा छाडा पशुचौपायाहरु रुपमा देख्न सकिन्छ । कञ्चनपुर र कैलालीका स्थानीय तहका जनप्रतिनिधिको प्रमुख चुनावी नारामध्ये छाडा पशुचौपायाको व्यवस्थापन पनि थियो । २०७४ सालमा चुनावी प्रचारप्रसारका क्रममा मतदाताको आँगनमा मत माग्न जाने बेला उनीहरुले जनाउने प्रमुख प्रतिबद्धता पनि बनेको थियो । कतिपय जनप्रतिनिधिले त चुनावी घोषणा पत्रमै छाडा पशुचौपाया व्यवस्थापनको मुद्दालाई प्राथमिकतामा राखेका थिए । राजमार्ग क्षेत्रमा छाडा छाडिएका पशुचौपायाका कारण आजित भएका सर्वसाधारणलाई जनप्रतिनिधिले चुनावताका जनाएको त्यो प्रतिबद्धता पूरा गर्लान् भन्ने आशा थियो ।
तर चार वर्ष अघि र अहिलेको अवस्था तुलना गर्दा खासै अन्तर आएको छैन । राजमार्ग क्षेत्रमा जताततै पशुचौपाया छन् । खेतमा लगाएको अन्नबाली जोगाउन रातभर जाग्राम बस्नुपर्ने चार वर्ष अघिको बाध्यता अहिले पनि हटेको छैन । कैलालीको गोदावरी नगरपालिकाका हर्क कोली भन्छन्, ‘राजमार्ग क्षेत्रमा छाडा छोडिएका पशुचौपायाको व्यवस्थान गर्न कसैले चासो लिएका छैनन् । जनप्रतिनिधिका प्रतिबद्धता कागजमै सीमित भए । हामी सर्वसाधारणका समस्या जहाँको त्यहीं छन् ।’
उनले गोदावरी नगरपालिकाका जनप्रतिनिधिले सामुदायिक पशुचौपाया नाम दिएर केही समय अघि व्यवस्थापन गर्न खोजेको जस्तो देखिए पनि अहिले फेरि राजमार्ग क्षेत्र र खेतबारीमा छाडा पशुचौपाया देखिन थालेको बताए ।
अहिले पूर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको गड्डाचौकीदेखि कैलालीको चिसापानीसम्म सडकमा सयौंको संख्यामा पशुचौपाया छाडिएका छन् । पशुचौपायाले ठाउँ–ठाउँमा सडक कब्जा गरेपछि सवारी दुर्घटनाको जोखिम ह्वात्तै बढेको छ ।
ठाउँ–ठाउँमा छाडा पशुचौपायाका कारण यात्रा गर्न निकै सकस हुने गरेको छ । ‘रातिको समयमा त टाढाबाट पशुचौपाया नदेखिने हुँदा झनै गाह्रो हुन्छ । मेरै बस धेरै पटक दुर्घटनाबाट जोगिएको छ ।’
कैलाली र कञ्चनपुरमा एक वर्षको अवधिमा राजमार्ग क्षेत्रमा छाडा पशुचौपायाका कारण १८ वटा सवारी दुर्घटना भएका छन् । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा १८ वटा दुर्घटनामा परेर १७ पशुचौपाया र दुई जना मानिसको मृत्यु भएको छ । यो अवधिमा २५ पशुचौपाया घाइते भएका छन् ।
प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक (एसपी) वामदेव गौतमले राजमार्ग क्षेत्रमा छाडिएका पशुचौपायाको उचित व्यवस्था हुन नसक्दा दुर्घटनाको जोखिम बढेको बताए । ‘राजमार्ग क्षेत्रका स्थानीय तहले कान्जी हाउस बनाएर अहिले छाडिएका चौपायाको व्यवस्थापन गर्नुपथ्र्यो,’ गौतमले भने, ‘कानून बनाएर गाईले दूध दिन छाडेपछि छोडिदिने व्यक्तिलाई दण्डसजायको व्यवस्था गरिनुपर्छ ।’
कञ्चनपुरको भीमदत्त नगरपालिका, वेदकोट नगरपालिका, शुक्लाफाँटा नगरपालिका र कृष्णपुर नगरपालिका क्षेत्रमा अहिले पनि
राजमार्गमा सयौं छाडा पशुचौपाया छन् । कैलालीको गोदावरी नगरपालिका, गौरीगंगा नगरपालिका, घोडाघोडी नगरपालिका र लम्कीचुहा नगरपालिकाको राजमार्ग क्षेत्रमा पनि छाडा पशुचौपायाको संख्या उत्तिकै छ । तर यी स्थानीय तहहरुले पशुचौपायाको उचित व्यवस्थापन गर्न नसकेकै कारण पशुचौपायाले सास्ती दिन थालेको गुनासो स्थानीयबाट आइरहेको छ ।
स्थानीय तहहरुले भने पशु चौपायाको व्यवस्थापन गरिरहेको तर सडकमा छाड्ने प्रवृत्ति नरोकिँदा समस्या भएको दाबी गरेका छन् । कञ्चनपुरको वेदकोट नगरपालिकाका मेयर अशोक चन्दले गौशाला निर्माण गरेर २०७४ सालदेखि नै सामुदायिक पशुचौपाया व्यवस्थापन गरिरहेको बताए । तर स्थानीय बासिन्दाले पुनः छोड्ने क्रम नरोकिएपछि राजमार्ग क्षेत्रमा चौपाया देखा पर्ने गरेको बताउँदै उनले सम्बन्धित वडालाई व्यवस्थापनका लागि निर्देशन दिइसकेको जानकारी दिए ।‘राजमार्ग क्षेत्रमा पर्ने वडा नम्बर १, ३, ६, ७, ९ र १० लाई हामीले छाडा पशुचौपाया ल्याएर गौशालामा व्यवस्थापन गर्न हालै निर्देशन दिइसकेका छौं,’ चन्दले भने, ‘केही वडाले पु¥याइसकेका छन् भने केहीले ल्याउने क्रम जारी छ ।’
पशु चौपाया छाडा छोड्ने मानिसलाई दण्ड सजाय गर्ने कानून समेत निर्माण गरेको भए पनि तथ्यांक संकलन गर्ने क्रममा सही विवरण नदिँदा समस्या हुने गरेको उनले बताए । कञ्चनपुरकै शुक्लाफाँटा नगरपालिकाका मेयर दिलबहादुर ऐरले आफ्नो पालिकामा पशु चौपायाको खासै समस्या नरहेको जिकिर गरेका छन् ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh