ई – दिशानिर्देश

पशुचौपायाको बिजोक

५ चैत्र २०७९, आईतवार
पशुचौपायाको बिजोक


दिशानिर्देश समाचार
महेन्द्रनगर, ४ चैत
छाडा पशुचौपायाको विजोग भएको छ । दुध दिने बेलासम्म गाई घरमा राख्ने र दुध दिन छोडेपछि गाई सडकमा छोड्ने
परम्पराले गर्दा पशुचौपायाको विचल्ली भएको छ । यसको व्यवस्थापनका लागि स्थानीय सरकारहरुले करोडौ खर्च गरेपनि दिगो व्यवस्थापन गर्न भने सकेका छैनन । वन जंगलहरुमा लगी चरिचरनको लागी लगेपनि सामुदायिक वनले पशुचौपायालाई चरिचरन क्षेत्र नै बन्द गरी जानै नदिने गरेका कारण पनि बढी समस्या भएको स्थानीयको भनाई रहेको छ ।
सामुदायिक वनजंगलमा जानै रोक लगाएपछि पशुचौपायाको आहारविहार नै नपाएपछि सडकका गल्लीहरुमा मर्न थालेका छन । त्यसैगरी चौपायाका कारण सडक दुर्घटना हुँदै आएको र किसानको खेतबारीमा समेत नोक्सानी व्यहोर्नु परेको छ । कञ्चनपुरमा विगत साढे पाँच वर्ष यता भीमदत्त, बेदकोट, शुक्लाफाँटा र कृष्णपुर लगायतका नगरपालिकाले पशु व्यवस्थापनमा करोडौ रकम खर्च गरिसकेका छन् ।
बेदकोट नगरपालिकाले सामुदायिक पशुको व्यवस्थापन गर्नको लागी पूर्व–पश्चिम राजमार्गका लागि बनाएको पुलको मुनि सामुदायिक पशुको व्यवस्थापन गरेको छ । सो पुलको मुनि पशुचौपाया राखिएको तीन महिना भएको छ । अर्को व्यवस्था नभएसम्मका लागि चौपाया पुलमुनि राखिएको कञ्चनपुरको बेदकोट नगरपालिकाका नगरप्रमुख भोजराज बोहराले
बताए । उनले भने, ‘हामीले तीन महिनादेखि गाईलाई पाल्ने काम गरेका छौ, संरक्षणको प्रयास गरिएको छ यो प्रतिकुल ठाउँ छ, गाइको संख्या धेरै छ । अर्काे ठाउँ छैन् । एक व्यवस्थित गौशाला निर्माण गर्न लागेका छौ । त्यसका लागि पाँच बिघा जमिन लिएका छौ ।’बेदकोट नगरपालिकाले तीन सय ३६ बढी पशुलाई पुलको मुनि राखेको तीन महिना बढी भइसकेको छ । नगरपालिका क्षेत्रमा सामुदायिक पशुको व्यवस्थापनका लागि स्थानको अभाव छ । वडा नम्बर ४ को बालज्योती माध्यामिक विद्यालयको जमिनमा पशुको व्यवस्थापन गर्ने निर्णय भएको छ । पाँच बिघामा तारजाली लगाएर पशुको व्यवस्थापन गर्ने योजनालाई डिभिजन वनले अबरोध गरेको नगरपालिकाले बताएको छ ।
त्यसैगरी जिल्लाको कृष्णपुर नगरपालिकाले छाडा चौपाया व्यवस्थापनलाई उच्च प्राथमिकता दिएको छ । यसका लागि नगरपालिकाका पाँच स्थान तोकिएका छन् । निगाली, वनहरा, गजविजुला, वनदेवी र ग्वासी समैजीमा एक हजार एक सय छाडा चौपाया व्यवस्थापन गरिएको छ । छाडा चौपायाका लागि तत्काल टहरा र ‘मेसवायर’ जडान गरी व्यवस्थापन गरिएको नगरप्रमुख हेमराज ओझाले बताए । जेठ महिनाभित्रै स्थायी प्रकृतिका भौतिक पूर्वाधार निर्माण गरी छाडा चौपाया व्यवस्थापनको कार्यलाई टुङ्गोमा पुयाउछौंँ’ उनले भने, ‘त्यसका लागि कार्य अगाडि बढाइसकेका छौंँ ।’ उनका अनुसार हालसम्म छाडा चौपाया व्यवस्थान गर्नका लागि १६ लाख बढी रकम खर्च गरिएको छ ।
छाडा चौपाया व्यवस्थापन गरिएका पाँचवटै स्थानमा १५ हजार तलब दिने गरी हेरालाको व्यवस्था गरिएको उनले बताए । व्यवस्थापन गरिएका चौपायालाई चारोको व्यवस्था गर्ने र वन क्षेत्रमा चरनका लागि लैजाने ल्याउने कार्य हेरालाले गर्ने गरी राखिएको छ । छाडा चौपायालाई खुवाउनका लागि सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सहयोगमा ५० क्वीन्टल प्लेट दाना, ५० ट्राली पराल प्राप्त भएको छ । ५० हजार रकम खर्च गरेर नगरपालिकाले थप दाना र पराल खरिद गरी छाडा चौपायालाई खुवाउने कार्य भइरहेको नगरप्रमुख ओझाले बताए ।
नगरपालिका र लालझाडी गाउँपालिकाको संयुक्त साझेदारीमा छिट्टै छाडा चौपाया व्यवस्थापनका लागि गौशाला निर्माण गरिन लागेको उनले बताए । छाडा चौपाया व्यवस्थापनको कार्यका लागि दुवै स्थानीय तहबीच छलफल गरी सहमति भएको छ । दुवै स्थानीय तहले आधा–आधा लागत खर्च व्यहोर्ने गरी कार्य अगाडि बढ्ने भएको हो ।
नगरपालिका क्षेत्रमा विगतमा छाडा चौपायाका कारण किसानले निकै हैरानी खेप्दै आएका थिए । ‘छाडा चौपायाले किसानले लगाएको अन्नबाली खाइदिने गरेकाले निकै नोक्सानी व्यहोर्दै आएका थियौँ’ नगरपालिका–२ बाणिका बासिन्दा सोभाराम खुनाले भने, ‘छाडा चौपाया व्यवस्थापनको कार्य गरिएपछि सहज रुपमा बाली लगाउन र भित्र्याउन पाएका छौँ ।’
छाडा चौपायाको दीगो रुपमा व्यवस्थापनको कार्य गरिनुपर्ने उनले बताए । नगरपालिकाले वडा नं १, २, ३, ४ र ५ मा छाडा चौपाया व्यवस्थापनको कार्य गरेको छ । अन्य वडामासमेत छाडा चौपायाको समस्या समाधानका लागि लाझाडी गाउँपालिकाको साझेदारीमा सो काम अगाडि बढाइएको छ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh