ई – दिशानिर्देश

मानव र वन्यजन्तु बीच द्वन्द्व बढ्दै, राजनीतिक तहमा प्राथमिकता पाएन

३ भाद्र २०८०, आईतवार
मानव र वन्यजन्तु बीच द्वन्द्व बढ्दै, राजनीतिक तहमा प्राथमिकता पाएन


दिशानिर्देश समाचार
महेन्द्रनगर, २ भाद्र
मानव र वन्यजस्तु बीच द्धन्द बढेको छ । नेपालमा वन संरक्षणसँगै वन्यजन्तुको संख्या बढ्दा मानव र वन्यजन्तुको सुमधुर
सह–अस्तित्वसँगै एकापसमा द्वन्द्व पनि बढ्दो क्रममा रहेको छ । द्वन्द्व बढ्नुमा मानव र वन्यजन्तु दुवै उत्तिकै जिम्मेवार छन् । जनावरका कारण मानव समुदायमा मानिस घाइते, अङ्गभङ्ग तथा मृत्यु हुने, पशुधनको क्षति, घरगोठको नोक्सानी, अन्नबाली, फलफूल, भण्डारण गरेको अन्नपात समेतको क्षति हुने गरेको छ ।
त्यस्तै मानिसका तर्फबाट जनावरमा पार्ने क्षतिमध्ये वन विनाश, चोरी सिकार, वन क्षेत्र अतिक्रमण, आगलागी, अवैध वन पैदावार सङ्कलन, बासस्थान खण्डीकरण, प्रतिशोधात्मक हत्या आदि छन् । नेपालमा मानव–वन्यजन्तु द्वन्द्व निम्त्याउने मुख्य जनावरमध्ये जंगली हात्ती, बाघ, गैँडा, भालु, चित्तल, चितुवा, रतुवा, जंगली बँदेल, बाँदर, दुम्सी, हिउँ चितुवा, स्याल, अर्ना, ब्वाँसो, मगर गोही, सर्प, अजिंगर, चरा आदि छन् ।
मानव–वन्यजन्तु द्वन्द्व केवल निकुञ्ज, आरक्षलगायतका संरक्षित क्षेत्र र जिल्ला वन कार्यालयहरूको मात्र समस्या नभएर यो हामी सबैको साझा समस्या हो । यसको हल गर्ने प्रमुख जिम्मेवारी निकुञ्ज, आरक्ष र वन कार्यालयको भए तापनि उनीहरूसँग उपलब्ध पर्याप्त साधनस्रोतको अभावले प्रभावकारी रूपमा यसको निदान गर्न सकिरहेका छैनन् ।
परिणामतः स्थानीय समुदाय हालसम्म पनि वन्यजन्तुबाट हुने पीडा र समस्याबाट मुक्त हुन सकेका छैनन् । देशभरि नै दिनानुदिन बढ्दो क्रममा रहेको छ यो समस्या । राजनीतिक तहमा प्राथमिकतामा नपरेका कारण पनि समाधान हुन सकेको छैन ।
मानवीय क्रियाकलापले वासस्थानमा असर पुग्दा द्वन्द्वका घटना बढेका छन् । मानिसको बसोबास वन र वन्यजन्तुको वासस्थान अतिक्रमण गरेर भएको हो । मानवीय अतिक्रमणका कारण वन्यजन्तु सीमित ठाउँमा खुम्चिएका छन्, कतिपय लोप भइसके । यिनै वन्यजन्तु आफ्नो आहाराका लागि विचरण गर्दा द्वन्द्व बढ्नु स्वाभाविक हो ।
द्धन्द न्यूनिकरण गर्न राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रमा तारबार, साइरन जडान गर्ने गर्दछन । वन्यजन्तुलाई निकुञ्ज भन्दा बाहिर आउनुपर्ने अवस्थाको अन्त्य नभएसम्म यो परिस्थिति रहिरहने विज्ञहरु बताउँछन । वन्यजन्तुको वासस्थान जोगाउन सक्नुपर्छ । पृथ्वीका सबै कुरा एकआपसमा सम्बन्धित छन् । बाघ, भालु, गैंडा लगायत वन्यजन्तुको अस्तित्व उनीहरुको आफ्नो जीवनसँग मात्र सम्बन्धित छैन, समग्र पारिस्थितिकीय प्रणालीसँग जोडिएका कारण अन्य जीव र मानिससँग समेत सम्बन्धित छ । वन्यजन्तुको वासस्थान जोगाउँदा अनेक प्रकारका जीवजन्तु र वनस्पति पनि जोगिन्छन्, जुन मानवजातिको अस्तित्वकै लागि आवश्यक रहेको विज्ञहरु बताउँछन ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh