बलदेव अवस्थी
भानुस्वर्णपदक प्राप्त
हामीले राष्ट्रको विकास के कसरी कुन समयमा भएको रहेछ भनेर हामीले हेर्दा २००७ देखि २०१७ सम्म १० वर्ष बहुदल २०१७ देखि २०४६ सम्म निर्दलले २९ वर्ष तथा बहुदलीय व्यवस्था अर्थात प्रत्यक्ष नेताहरुले राष्ट्र सञ्चालन गरेको ४५ वर्ष पुरा भयो । २००७ सालसम्म नेपालको विकासको हकमा सिंहदरबार हनुमानढोका राजाका दरबारहरु मात्र बनेका थिए ।
राणाजीहरुका कार्यालय निवास मात्र बनेका थिए भने नेपालको मात्र नभई सम्भवतः प्रथम जलविद्युत योजनामा फर्पिङको थियो । राणाहरुको दरबार कार्यालय र कही कही काठमाडौं शहरमा बत्ती उज्यालोको रुपमा दिएको थियो । पृथ्वीनारायण शाह पछिका राजाहरु अघोषित सुनको पिजडारुपी जेलमा भने पनि हुने गरी राणाहरुले आफ्नो नियन्त्रणमा राखेका थिए । विकास निर्माण राज्य विस्तार र खुम्चाइएको जिम्मा राणा सरकारकै टाउकोमा जान्छ । यदि राणाहरुले चाहेको भए कच्ची सडकहरु देशभरी बन्ने थिए । उनले नचाहेर हुन वा नजानेर एकिन भन्न नसके पनि छिमेकमा अंग्रेजको शासन भएकोले त्यहाँबाट पनि केही सिक्नुपर्ने थियो किन सकेनन् भन्नमा प्रष्ट छैन । २०१७ सालपछि नै हो पुर्व पश्चिम महेन्द्र राजमार्गको निर्माण सुरु भएको त्यस बेलामा भ्याकु, जेसीवी केहीको चलन थिएन । टाउकोमा माटो बोकेर राजमार्गको भरान गरेका हुन भने पहाडी क्षेत्रमा घैटी सब्बल बेल्चाले खनेर सडक निर्माण गरेका थिए भने पृथ्वी राजमार्ग भने भारतीय अर्ध सैनिक कम्पनी पाईनियर कम्पनीले पनि घैटी बेल्चा चलाएरै निर्माण गरेका हुन भने सुपको कुरा गर्दा २०२५ सालमा सतबाजदेखि गोठालापानी सम्म कच्ची सडकहरु निर्माण गरेका थिए । जरगाउ तथा जगन्नाथ न्वाला नजिक पखान भएकोले त्यहाँ हल्का हल्का निर्माण भएको थियो भने अत्तरीया डडेल्धुरा सडकको निर्माण ३ करोडको लागतमा २०२५ सालमा अमेरिकाको सहयोगमा निर्माण हुन सुरु भएको थियो । अन्तमा अमेरिकाले आफै निर्माण गर्न छोडी नेपाललाई नै रकम समेत हस्तान्तरण गरेका थिए । २०३७/३८ सालतर्फ कच्ची सडक त पाटन सम्म नै कटिङ भईसकेको थियो बाँकी काम बझाङ, दार्चुलाको लागी पनि रेखांकन भैसकेको थियो । महाकाली सिचाईको डिपीआर गर्न बेलायतको एक कम्पनिले पाएको थियो जसको सुरुवात २०२८ सालमा नै सुरु भई २९÷३० साल तर्फ त धमाधम मुल नहर खोदानको कार्य सुरु भएको थियो । मुल नहरको निर्माण सिसैयासम्म प्रथम चरणमा नै दैनिक एक हजार मजदुरहरु खास गरी विहारीहरुले टाउकोमा टोकरी भरी माटो बोकी मुल नहरको निर्माण गरेका थिए भने गाउँतर्फका शाखाहरु ४२/४३ सालतर्फ केडिसी कोरियन ठेकेदारले गरेका थिए । त्यसकै सिललिसामा महेन्द्रनगरको पञ्चायत रजत पार्क पनि उनले नै बनाई दिएका हुन । त्यति बेला तल्लो निकायमा कमिसनको खेल पनि न्यून थियो । त्यसमा पनि ग्लोबल टेन्डर तर अञ्चलाधीको आग्रहमा पंचायत रजत जयन्तीको पार्क भने २४ घण्टा काम गर्न लगाई करिव १५ दिन भित्र निर्माण गरि दिएका हुन । जव नहरको सम्पूर्ण कार्य पुरा भयो त्यसपछि २०४३/४४ सालतर्फ बैतडी अत्तरीया सडक खण्डको दोहोरो कटिङ नाली निर्माणको काम सुरु गरी पाटन सम्म नाली निर्माण गरी पीच गर्ने
तयारीमा रहेको बेला २०४५ साल चैत्र १० गते देखि नेपाल भारतको आर्थिक, व्यापारिक परिवहन नाकाबन्दी भारतले लगायो हाम्रा बहुदलबादी नेताहरुले दिएको सुझावमा राजालाई झुकाउने उपाय केवल नाकाबन्दी नै हो भनि राजीव गांधीसँग विनय गरेकाले बहुदलवादी नेताहरु गिरिजा देखि शेरबहादुर सम्म कसैले विरोध गरेनन् । बरु चन्द्र शेखर सुपरमन्यम स्वामी जस्ता भारतका नेताहरु नेपालको काठमाडौंको चाकसीवारीमा बसी नेपालको विरोध गर्न लागे, जसका मूल कमाण्डर गणेशमान सिंह श्रेष्ठलाई बनाएका थिए । त्यही नाकाबन्दीले डिजल नपाई सडक निर्माण गर्न भ्याकु, जेसिबी, ट्रकहरु तेल नपाई चल्न सकिएन । दोधारा चाँदनीका स्थानीय र भारतका स्थानीय मिली तेल आपुर्ती त गर्न खोज्यो तर आपुर्ति गर्ने स्थानीयहरुले पानी मिसाएको कारणले सबै गाडीहका इन्जन खराब भए, जहाजबाट मगाएको डिजलले आपुर्ति भएन र अन्तमा कोरियन ठेकेदारलाई नोक्सान आयो, गाडी तथा निर्माण सामग्री अनारखोलीमा नै अस्तव्यस्त रहे, ठेक्का छोडी हिडे । यस्तो कष्ट व्यहोरी निर्माण भएका हुन, सडक र नहरहरु । आज त जेसीबी लगायतका अत्याधुनिक सडक निर्माण सामग्रीहरु छन त्यसमा पनि पालिकाहरुको बजेटबाट ऋण लिएर सदस्य वा उनकै नातागोताले जेसीवी खरिद गरि वा पालिकाको नाममा किनी भाडामा लिएको बहानामा प्राविधिक ओभरसियर, इन्जिनियर वा अन्य कुनै सडक निर्माण विज्ञ बेगर ड्राइभर र खलासीहरुकै प्राविधिकत्वमा पहाडी जिल्लाहरुमा कच्ची सडकहरु अनावश्यक ठाउँहरुमा काटिएका छन, जुन सडकहरुमा न गाडी चल्न सक्छन न पहिरो रोक्न सकिन्छ । जसबाट करोडौं होइन बरु अरबौको भ्रष्टाचार भएको छ । २९ वर्ष निर्दलीय पंचायती व्यवस्था र ४५ वर्षे बहुदलीय व्यवस्थाको तुलना गरेर हेरौं २९ वर्षमा त सयौं गुणा विकास ४५ वर्षको भन्दा अतुलनीय बढी विकास भएको हामी पाउँछौं । २९ वर्षमा एकल नेतृत्व थियो, केवल राष्ट्रको हितमा थियो आज बहुल नेतृत्वबद्ध राष्ट्र हितमा नभएर दलको हितमा छन । राष्ट्रको राष्ट्रपति प्रधानमन्त्री नभएर दलको प्रधानमन्त्री छन राष्ट्रको प्रधानमन्त्री बन्छन कि बन्दैन हेर्न बाँकी छ । पंचायतले ३० वर्ष खायो भन्दथे गणना गर्दा त केवल २९ वर्ष मात्र देखिन्छन । बरु बहुदलवादीहरुले ४५ वर्ष खाएछन । तुलना गरि हेर्ने हो भने वर्तमानमा होहल्लाले देश अगाडी बढेको छ अन्यथा छैन ।