ई – दिशानिर्देश

फेरि एउटा परिवर्तन

२१ जेष्ठ २०७४, आईतवार
फेरि एउटा परिवर्तन

निम्न पंक्तिहरु समय सान्दर्भिक देखिएकोले क्षेत्रप्रताप अधिकारी द्वारा रचित “फेरि एउटा परिवर्तन” भन्ने पुस्तकबाट लिइएको हो ।

देशले खोजेको परिवर्तन
सरकार होइन, संस्कार हो
हामीले रोजेको परिवर्तन
आकार होइन, विचार हो ।

राजाको नाममा ढाँटेर
आफ्नो दुनो सोझ्याउनेहरु पहिले पनि थिए
प्रजाको ढुकुटी काटेर
पजेरो कुदाउनेहरु अहिले पनि छन् ।
फरक केवल यत्ति मात्र हो
पहिले घुस्याहाहरु लुकेर खान्थे
अहिले चुसाहाहरु ढुकेर खान्छन् ।
निमुखाको लागि त के भयो र खोई !
हिजो जुम्राले टोक्यो
आज किर्नाले टोकिरहेछ
शान्ति छैन, सुरक्षा छैन
मनमा ढ्याँग्रो ठोकिरहेछ ।

देशले खोजेको परिवर्तन
दृश्य होइन, दृष्टि हो
हामीले रोजेको परिवर्तन
मान्छे होइन, सृष्टि हो ।
हिजो केही कारखानाहरु बने
आज कारखाना बेचेर केही मान्छे बने
हिजो पैरो खनेर बाटाहरु बने
आज बाटो खनेर केही घरहरु बने ।
साझा शुभ–समाचार सुन्न पाइएन
नयाँ आशाको तान बुन्न पाइएन
अचेल अनुदान दिने दाताहरु पनि
ऋण माथि ऋण थुपार्न पल्केका छन् ।

ऋणं कृत्वा घृतं पिवेत् भयो
अब जन्मने शिशुहरुले
आफ्नो भागमा परेको
सावाँ ब्याज लिएर आउनुपर्छ ।
अब जन्मने परिवर्तनले
स्वतन्त्र स्वर सुसेलेर
मुक्तिको गीत गाउनुपर्छ ।

देशले खोजेको परिवर्तन
शोषण होइन, पोषण हो
जनताले रोजेको परिवर्तन
दुःशासन होइन, सुशासन हो ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh