ई – दिशानिर्देश

गोबरमय दुर्गन्धित बन्दै झलारी बजार

७ आश्विन २०७४, शनिबार
गोबरमय दुर्गन्धित बन्दै झलारी बजार


जगदिश प्रसाद अवस्थी । झलारी, ०७ असोज । गाईवस्तुलाई दोहन गरी छाड्ने मानविय प्रवृत्ति हाल बढ्दो रुपमा देखिएको छ । दुध खान मात्र राम्रो मान्ने तर गाईवस्तु पाल्न अल्छी मान्ने व्यक्तिहरु हाम्रो समाजमा नै रहेका छन् ।

कञ्चनपुरका विभिन्न स्थानहरु जस्तै झलारीमा पनि छाडा गाईवस्तुले स्थानिय हैरानी खेप्न बाध्य भएका छन् । छाडा गाईवस्तुले एकातिर लगाएको अन्नबाली खाइदिने समस्या छ भने अर्काेतिर बजारमा गोबर धेरै भएपछि त्यो गन्हाएर बजार क्षेत्र नै दुर्गन्धित बन्न पुगेको छ ।

मनलाग्दी तरिकाले गाईवस्तुहरु छोड्न थालिएपछि झलारी बजार अव्यवस्थित तथा दुर्गन्धित बनेको छ ।

बजार क्षेत्रमा गोबरका कारण दुर्गन्ध पुरै फैलिएपछि बस द्वारा यात्रा गर्ने, पैदल आवतजावत गर्ने तथा स्थानिय व्यापारीहरु समेत चिन्तित बनेका छन् । यसको कारण झलारी बजार समेत कुरुप बन्दै गएको छ ।

बजार क्षेत्रमा ट्राफिक व्यवस्थापनमा टेवा पुगोस् भनी राजमार्ग चौडा पारिएको छ तर छाडा पशुहरुले नै बजार क्षेत्रका सडकहरु भरिभराउ हुने गरेका छन् । विहिबार देखि अविरल रुपमा परिरहेको पानीका कारण सडक तथा राजमार्गहरु गोबरमय बनेका छन् ।

सामुदायिक वनहरु संरक्षणको लागि भन्दै बन्द गरिएपछि यो समस्या बढेको शुक्लाफाँटा नगरपालिका ११ अमरपुरका स्थानियहरु बताउँछन् । चरन क्षेत्रको अभाव भएपछि खेतको घाँसले मात्रै गाईवस्तु पाल्न कठीन भएको कुरा स्थानियहरुले बताएका छन् ।

स्थानिय चुनावका बेला छाडा गाईवस्तु व्यवस्थापनलाई प्रमुख विषय बनाएका राजनीतिक दलहरु समेत चुनाव जितेपछि त्यसमा उदासिन भएका छन् ।

कञ्चनपुर स्थित विभिन्न नगरपालिका कार्यालयहरुले हाल घरघरमा गई पशुगणना सुरु गरेका छन् । हाल रहेका छाडा गाईवस्तुहरुको समाधान कसरी गर्ने भन्ने विषयमा भने हाल सम्म पनि अन्यौल नै रहेको पाइन्छ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh