ई – दिशानिर्देश

यू १८ साफ च्याम्पियन्स उपाधिमा नेपालको जित

१५ आश्विन २०७४, आईतवार
यू १८ साफ च्याम्पियन्स उपाधिमा नेपालको जित


काठमाण्डौं, १३ असोज । भुटानको थिम्पुमा यू १८ साफ च्याम्पियन्स उपाधि लिएर नेपाली टोली विहीबार स्वदेश फर्किएको छ । विहिबार अपरान्ह त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रिएका नेपाली खेलाडीलाई स्वागत गर्न अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारी तथा फुटबलप्रेमी समर्थकहरु त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल पुगेका थिए ।

दशैंका बेला अधिकांश काठमाडौं बाहिर गएकाले खेलाडीको भव्य स्वागत भने हुन सकेन । एन्फा पदाधिकारीहरुले विमानस्थल मा स्वागत गरेका थिए ।

विजेता खेलाडीले पहिलो खेल भुटानसँग हार्नु नै आफुहरुको जीत भएको प्रतिक्रिया दिए । सोही हारबाट सिक्दै थप
रणनीति बनाउन सफल भएकाले बिजय प्राप्ती गरेको टोलीका क्याप्टेन अर्पण कार्कीले बताए । नेपाली फुटवलमा अर्को एउटा जीत हासिल गरेर नेपालीलाई ठूलो उपहार दिन सकेको उनले बताए ।

फुटबल प्रशिक्षक छिरिङ लोप्साङले पहिलो पटक प्रशिक्षक भएर अन्तर्रा्ष्ट्रिय खेल खेलाउदा प्राप्त भएको बिजयले आफूलाई सफल तथा खुसी बनाएको प्रतिक्रिया दिए । भुटानमा भएको खेलमा भारतलाई २–० ले हराउँदै नेपालले उपाधि जितेको थियो ।

बुधबार भएको उक्त खेलमा दुबै गोल दिनेश हेन्जनले गरेका थिए । दुई वर्षअघि नेपालले घरेलु मैदानमा आयोजित १९ वर्ष मुनिको साफ फुटबलको पहिलो उपाधि जितेको थियो । त्यसपछि भने १८ वर्ष उमेर समूहको खेल खेलाउन थालिएको हो ।

प्रतियोगितामा सहभागी दक्षिण एसियाका पाँच टोलीहरु सबैले एक–अर्कासँग खेलेपछि सबै भन्दा बढी अंक प्राप्त गर्ने टोली विजेता बनेको हो । नेपाल र बंगलादेश को बराबर ९ अंक भएपछि ‘हेड टु हेड’का आधारमा नेपाल विजेता बनेको हो । समूहको खेलमा नेपालले बंगलादेशलाई २–१ ले हराएको थियो भन्ने समाचार विभिन्न समाचार माध्यमहरुले प्रकाशमा ल्याएका छन् ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh