ई – दिशानिर्देश

हिन्दुहरुको दोश्रो महान चाड तिहार सम्पन्न

५ कार्तिक २०७४, आईतवार
हिन्दुहरुको दोश्रो महान चाड तिहार सम्पन्न


महेन्द्रनगर, ०४ कार्तिक । हिन्दु धर्मका मुल्य मान्यता तथा रिति थितिहरु सनातन छन् । संस्कृति, परम्पराका धनी मानिने नेपाली हिन्दु समाजमा वैदिक काल देखि मनाइदै आएका विभिन्न चाडपर्वहरु मध्ये हिन्दुहरु दोश्रो महान चाड तिहार समापन भएको छ ।

बडा दशैंको १५ दिन पश्चात अर्थात् कार्तिक कृष्ण पक्षको त्रयोदशी तिथि देखि सुरु हुने यो पर्व नेपाल तथा भारतका हिन्दुहरुले बडो धुमधाम तथा श्रद्धा पूर्वक मनाउने गरेको पाइन्छ ।

तिहार अर्थात् यमपञ्चक भनेर पनि जानिने गरेको तिहारको पहिलो दिन कागको पूजा गरेर काग तिहार मनाउने चलन रहेको पाइन्छ । काग चलाख एवं सर्वभक्षी पन्छी हो । यमराजको दूत मानिएको कागले सबैलाई समान दृष्टिले हेर्छ र अन्नबालीमा लाग्ने कीरा–फट्यांग्राहरू खाइदिन्छ भन्ने मान्यता समेत रहेको छ । काग तिहारका दिन बिहान कागलाई बोलाएर फूलले पूजा गरी खानेकुरा दिने चलन छ ।

यमपञ्चकको दोश्रो दिन अर्थात् कार्तिक कृष्ण चतुर्दशीमा कुकुर तिहार मनाउने गरेको पाइन्छ । यो दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । संस्कृतिविद्का अनुसार कुकुरलाई पनि यमराजको प्रियभक्त र दूतका रूपमा लिइन्छ भने भैरवको वाहन कुकुरले घरको रेखदेख गर्छ । कुकुरलाई पनि बिहानै खानुअघि फूलको माला लगाएर पकाएका परिकार दिने चलन नेपाली समाजमा विद्यमान छ ।


यमपञ्चकको तेस्रो दिन गाईलाई गौमाता वा लक्ष्मीको रूपमा पूजा गर्ने चलन रहेको छ । कार्तिक कृष्ण औंसीको दिन बिहान गाईलाई विभिन्न रङ र फूलको माला लगाई मिठा परिकार खुवाइन्छ । उक्त रातलाई ‘अँध्यारो रात’का रूपमा लिइने परम्परा भएकाले उज्यालो प्रकाशले आलोकित पार्न साँझदेखि लक्ष्मीको आह्वान तथा पूजा गरी लक्ष्मीलाई ऐश्वर्यको प्रतीक एवं धनधान्यकी देवी मान्दै आइएको छ । यस कार्तिक कृष्ण औसीका दिन साँझ दीपावली गरेमा त्यो घरमा लक्ष्मीले सदासर्वदा बास गर्ने धार्मिक मान्यता रहिआएको छ ।

यमपञ्चकको चौथो दिन अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन खेतीपातीमा सहयोग गर्ने गोरुको पूजा गरिन्छ । पौराणिक मान्यता अनुसार यस दिन घरघरमा गाईको गोबरले गोवद्र्धन पर्वतको प्रतिमा बनाई सोको पूजा गर्ने चलन रही आएको छ ।

यमपञ्चकको पाँचौं दिन अर्थात् कार्तिक शुक्ल द्वितीया तिथिका दिन दिदि बहिनीहरुको हातबाट दाजुभाईहरुलाई टीका लगाई भाइटीका लगाउने प्रचलन रहिआएको छ । भाइटीकाका दिन दिदी बहिनीले दाजुभाइलाई विधिपूर्वक पूजाआजा गर्ने र सप्तरंगी टीकाका साथै कहिल्यै नओइलिने मखमली फूलको माला लगाइदिने साथै विभिन्न आशिषहरु दिने चलन रहि आएको छ । दाजुभाइले पनि दिदी बहिनीलाई दान–दक्षिणा एवं वस्त्र आदि दिने गरिन्छ । हिन्दू धर्मशास्त्र अनुसार सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गई पाँच दिनसम्म बिताएकाले तिहारलाई यमपञ्चक भनिएको शास्त्रहरुमा उल्लेख छ ।

तिहारका लागि भनेर सरकारले लक्ष्मीपूजा देखि भाइटीकाका दिन सम्म सरकारी विदा समेत दिने गरेको छ ।

दशैं तथा तिहार जस्ता विभिन्न चाडपर्वहरुले धार्मिक तथा सामाजिक सहिष्णुता कायम राख्ने र भाइचाराको सम्बन्ध स्थापित गर्ने विभिन्न बुद्धिजीविहरुको मान्यता रही आएको छ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh