ई – दिशानिर्देश

नगरपालिका द्वारा आठ वटा नियमावली निर्माण

६ माघ २०७४, शनिबार
नगरपालिका द्वारा आठ वटा नियमावली निर्माण

झलारी, ६ माघ । स्थानीय सरकार सञ्चालनका लागि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले आठ वटा नियमावली र कार्यविधि निर्माण गरेको छ ।
प्रथम नगर सभाबाट नियमावली र कार्यविधि पारित गरी कार्यान्वयनमा ल्याइएको हो । नेपालको संविधान, २०७२ को अनुसूची ८ मा उल्लेख गरिएका २२ वटा अधिकारबमोजिम स्थानीय तहका लागि आवश्यक नियम निर्माण गरी कार्यान्वयनमा ल्याइएको नगरपालिकाका नगर प्रमुख दिलबहादुर ऐरले बताउनुभयो ।
संघीय कानूनसँग नबाँझिने गरी कानून निर्माण गरेका छौँ उहाँले भन्नुभयो, ‘ऐन, नियमावली र कार्य्विधि निर्माण गरिएपछि कार्य गर्न सहजता भएको छ ।’
उहाँका अनुसार कार्यपालिका बैठक सञ्चालन कार्यविधि २०७४, कार्यपालिका नियमावली २०७४, नगरपालिका नगर कार्यविभाजन नियमावली २०७४, नगरसभा सञ्चालन कार्यविधि २०७४, नगरपालिका पदाधिकारी आचारसंहिता २०७४ निर्माण गरी कार्यान्वयनमा ल्याइएको छ ।
यसैगरी, नगरपालिकाले कार्यपालिका निर्णय आदेश र अधिकारको प्रमाणीकरण कार्य विधि नियमावली २०७४, स्थानीय तहको विनियोजन ऐन, स्थानीय तहको आर्थिक ऐन निर्माण गरेको छ ।
संविधान र संघीय कानूनसँग नबाझ्ने गरी आवश्यकता अनुसार अन्य नियमावली र कार्यविधि निर्माण गरिँदै लैजाने नगरपालिकाका प्रशासकीय अधिकृत शेरबहादुर बुढाले बताउनुभयो ।
नेपाल सरकार स्थानीय तह सञ्चालन ऐन २०७४ मन्त्रालयबाटै निर्माण भएर आएकाले झनै सहजता भएको उहाँको भनाइ छ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh