ई – दिशानिर्देश

नेपालमा लगानी गर्नेमा चीन सबैभन्दा अगाडी

२२ फाल्गुन २०७३, आईतवार
नेपालमा लगानी गर्नेमा चीन सबैभन्दा अगाडी


काठमाण्डौं, २० फाल्गुन
अन्तरराष्ट्रिय लगानी सम्मेलन नेपालमा आज भन्दा करिब २५ वर्ष पहिले भएको थियो । त्यसले निरन्तरता पाउन नसकेपनि न्यून मात्रामा विदेशी लगानी नेपाल भित्रिएको थियो । बृहत लगानीको लागि यस पालीको सम्मेलन भएको छ ।
काठमाडौंमा सकिएको अन्तरराष्ट्रिय लगानी सम्मेलनमा चीनबाट मात्रै ८ खर्ब ३० अर्बको लगानी प्रतिवद्धता आएको छ । लगानी सम्मेलनमा अन्य देशका लगानीकर्ताको प्रतिवद्धतालाई उछिन्दै चीनबाट सबैभन्दा धेरै लगानीको घोषणा भएको हो ।
लगानी सम्मेलनमा कुल १३ खर्ब ५२ अर्ब रुपैयाँ बराबरको प्रतिवद्धता आएको आयोजक लगानी बोर्डले जनाएको छ । सम्मेलनमा चिनियाँ लगानीकर्ताले नेपालमा लगानीका लागि बढी र उत्साहजनक रुपमा चासो देखाएका छन् ।
सम्मेलन मार्फत नेपालका विभिन्न क्षेत्रमा लगानी गर्न चीनका लगानीकर्ताले गरेको प्रतिवद्धता रकम कुल घोषित लगानीको ६१ प्रतिशत हो । चिनियाँ लगानीकर्ताको तर्फबाट भएको घोषणाले भारतीय लगानीकर्तालाई निकै पछि पारेको छ ।
नेपालमा लगानीका लागि होडबाजीमा रहेको भारतबाट सम्मेलनमा सहभागी लगानीकर्ताले ३१ अर्ब ७० करोडको मात्रै प्रतिवद्धता जनाएका छन् । भारतबाट आएको प्रतिवद्धता कुल घोषित
रकमको २.२९ प्रतिशत मात्रै हो ।
सम्मेलनमा अनुमान गरिएभन्दा १२ खर्ब ५२ करोड रुपैयाँ बढीको प्रतिवद्धता आएको छ ।
सरकारले लगानी सम्मेलनबाट १ खर्ब जुट्ने अनुमान गरेकोमा लगानी प्रतिवद्धता भने १३ खर्ब (१३.५२ बिलियन डलर) को आएको हो ।
लगानी सम्मेलन समापन गर्दै उद्योग मन्त्री नविन्द्रराज जोशीले अनुमान भन्दा निकै ठूलो प्रतिवद्धता आएकाले आफूहरु उत्साहित भएको बताए ।
‘सबै राजनीतिक दलको अबको प्राथमिकता भनेको विकास हो, यसका लागि विदेशी लगानी जरुरी छ, त्यसैले नै ठूला राजनीतिक दलहरुले यो सम्मेलनमा विदेशी लगानीलाई सुरक्षा गर्ने प्रतिवद्धता जनाएका हुन्’ उनले भने ।
साथै विदेशी लगानीलाई सुरक्षा दिने नेताहरुको प्रतिवद्धता कै कारण मन्त्रालयको अपेक्षा भन्दा पनि ठूलो मात्रामा लगानी प्रतिबद्धता आएको उनको भनाइ छ ।
मन्त्रालयले १ खर्बभन्दा बढी लगानी प्रतिवद्धता आउने अपेक्षा गरेको थियो । तर सम्मेलनमा विदेशी लगानीकर्ताबाट १३ खर्बभन्दा बढी रकमको लगानी प्रतिवद्धता आएको छ ।
सम्मेलनमा सहभागी बंगलादेशका लगानीकर्ताले दोस्रो ठूलो प्रतिवद्धता जनाएका छन् । उनीहरुले २ खर्ब ४० अर्ब रकमको लगानीको घोषणा गरेका हुन् ।
त्यसैगरी जापान र बेलायतबाट १÷१ खर्बको लगानी प्रतिवद्धता आएको लगानी बोर्डले जनाएको छ । लगानी प्रतिवद्धताको होडबाजीमा भारतलाई श्रीलंकाले पनि उछिनेको छ ।
श्रीलंकाका लगानीकर्ताले ५० अर्ब लगानीको लागि आफ्नो प्रतिवद्धता जाहेर गरेका छन् । नेपालका लगानीकर्ताबाट १ अर्ब १५ करोडको लगानी प्रतिवद्धता जनाएको बोर्डले जनाएको छ ।
विभिन्न देशबाट सहभागी २ सय ५० भन्दाबढी विदेशी लगानीकर्ताले नेपालका विभिन्न सम्भाब्य क्षेत्रमा लगानी गर्ने प्रतिवद्धता जनाएका हुन् ।
सम्मेलनपछि जारी गरिएको लेटर अफ इन्टेन्टमा चिनियाँ व्यवसायीहरुले लिखित रुपमा ८ खर्ब ३ अर्ब भन्दा ठूलो लगानी गर्ने प्रतिबद्धता जाहेर गरेको देखिएको छ ।
पछिल्लो समयमा पर्यटन लगायत विभिन्न क्षेत्रमा चिनियाँ लगानी नेपालमा लगातार बढिरहेको छ । संविधान बनेर देश राजनीतिक स्थायित्व तर्फ लम्किँदै गर्दा चिनियाँ लगानीकर्ताले नेपालाई लगानीको भर्जिन ल्याण्डका रुपमा देखेका छन् ।
नेपालमा रहेको प्राकृतिक तथा सांस्कतिक स्रोत सम्पदा तथा त्यसैका आधारमा खडा हुन सक्ने विभिन्न उद्योग ब्यवसायमा चिनियाँ लगानी केन्द्रित हुने देखिएको छ । भारतीय लगानीलाई पछि पार्ने गरी मौलाएको चिनियाँ लगानीकर्ताको चासोले अन्ततः नेपालकै पूर्वाधार क्षेत्रमा लाभ मिल्ने देखिएको छ ।
सम्मेलनको सुरुवातमै बोलेका प्रधानमन्त्री प्रचण्डले नेपालमा हुने विदेशी लगानीलाई सुरक्षित गर्ने वातावरण बनाउने बताएका थिए । नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले पनि विदेशीको लगानी
सुरक्षामा आफ्नो पार्टी प्रतिबद्ध भएको जनाएका थिए ।
नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी लगानीकर्तालाई सरकारभन्दा एक कदम अघि बढेरै सहयोग गर्ने बताएका थिए ।
यसरी नेपालका कांग्रेस, एमाले र माओवादीका बरिष्ठ नेताहरुले लगानी सुरक्षाको प्रतिवद्धता जनाएसँगै सम्मेलनमा चिनियाँ ठूला व्यवसायीहरुले नेपालमा लगानी बढाउने इच्छा देखाएका छन् ।
उद्योग मन्त्रालयका अनुसार चिनियाँहरुले अहिले पर्यटन, जलबिद्युत जस्ता क्षेत्रमा लगानी गर्ने इच्छा जाहेर गरेका छन् ।
चिनियाँ मेसिनरी इन्जीनियरिङ कम्पनीले जलविद्युत, मेट्रो र अस्पतालमा लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । कम्पनीले यी क्षेत्रमा चीनबाट ३ खर्ब लगानी लगानी गर्ने प्रतिबद्धता आएको हो ।
चाइना स्टेट कन्स्ट्रक्सन् एण्ड इन्जिनियरिङ कम्पनीले पनि विमानस्थल, सुरुङ र राजमार्गमा २ खर्बभन्दा ठूलो रकम लगानी गर्ने प्रतिवद्धता जनाएको छ ।
त्यस्तै चिनको सिटिसिइ ग्रुपले पनि सुरङमार्ग, रेल, जलबिद्युत जस्ता क्षेत्रमा १ खर्बभन्दा बढी खर्चने प्रतिबद्धता जनाएको उद्योग मन्त्रालयले जानकारी दिएको छ ।
यदि नेपाल सरकारले यातायात बन्द हड्ताल जस्ता कार्य गर्नेहरु माथि कडा कानून बनाएन भने यो प्रतिबद्धताले काम गर्ने छैन । अचाक्ली चन्दा, लुटपाट, असुरक्षा तथा अविश्वास हुने कामहरु हुन नदिनु नेपाल सरकारको दायित्वमा रहनेछ । साथै लगानीकर्ताहरुले लगाएका रकमको अथवा निर्माणको हिस्सा सम्पूर्ण देशले बराबर रुपमा पाउनु पर्छ । हालसम्म सु.प.लाई पछाडि पारिएको परिपेक्ष्यमा पूर्ण विकास निर्माण, रेल तथा ट्रलिबसहरुको सुरुवात महाकालीबाट पनि गर्नुपर्ने देखिन्छ । यसतर्फ सु.प.का नेताहरुले सर्तकता अपनाउनुपर्ने अवस्था आएको छ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh