ई – दिशानिर्देश

राजनीतिक पार्टीहरुको देश दौडाह अभियान सुरु

२२ फाल्गुन २०७३, आईतवार
राजनीतिक पार्टीहरुको देश दौडाह अभियान सुरु

काठमाण्डौं, २१ फागुन
आज स्थानिय निर्वाचन नभएको १९ वर्ष भइसक्यो र अझपनि निर्वाचन हुन्छ भन्ने विश्वास जनमानसमा नभएपनि चुनावी दौडमा राजनीतिक पार्टीहरु भने दगुरी रहेका छन् ।
प्रमुख प्रतिपक्ष एमालेले शनिबार देखि मेचि–महाकाली राष्ट्रिय अभियान शुरु गरेको छ । सुखानी सहिद दिवसको अवसर पारेर एमालेले राष्ट्रिय एकताको सन्देश सहित यस्तो अभियान चलाएको हो ।
देशको पूर्वी भूभाग काकडभिट्टाबाट विहान ११ बजे अभियान भएको थियो । अभियानमा सहभागी हुन एमाले अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपाल, महासचिव ईश्वर पोखरेल, बामदेव गौतम, योगेश भट्टराई, भीम रावल लगायतका नेताहरु काकडभिट्टा पुगेका थियो । नेताहरु शुक्रवार नै झापा पुगेका हुन् ।
१५ दिने अभियानमा तराईका २२ जिल्लालाई समेट्ने गरी ३५ स्थानमा आमसभा आयोजना गरिने एमालेले जनाएको छ । एमालेलाई मधेश विरोधी पार्टीका रुपमा प्रचार गरिएको र यसलाई चिर्न अभियान थालिएको एमालेको भनाई छ । झापाबाट शुरु भएको अभियान अन्तिम दिन सुर्खेतमा जनसभा गरेर टुंगाउने कार्यतालिका बनाइएको छ ।
तराई–मधेशमा एमाले र मधेशी मोर्चा बीच तनाव छ । यही कारण अभियानका क्रममा हिंसा हुने आंशका पनि गरिएका छन् । विहिवार साँझ गृहमन्त्री बिमलेन्द्र निधिले एमाले अध्यक्ष केपी ओलीसँग भेट गरेका थिए । तर, नेताहरुबीच वाकयुद्ध भने रोकिएको छैन ।
त्यस्तै गरी राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि नेकपा (एमाले)ले जस्तै मेची महाकाली अभियान गर्ने घोषणा गरेको छ ।
भर्खरै मात्र आफ्नो राष्ट्रिय एकता महाधिवेशन सकेको राप्रपाले आगामी चुनावमा नेकपा एमाले र नेपाली कांग्रेस सँग प्रतिस्पर्धा गर्ने तयारीमा रहेका बेला मेची महाकाली अभियान गर्ने रणनीति बनाएको हो ।
तर राप्रपाले यसलाई राष्ट्रिय एकता यात्रा भनेको छ । पार्टी कार्यालय धुम्बाराहीमा शुक्रवार आयोजना गरिएको केन्द्रीय कमिटीको बैठकले आगामी चैत ८ देखि १२ गतेसम्म मेची काली राष्ट्रिय एकता यात्रा गर्ने निर्णय गरेको केन्द्रीय सदस्य मोहन श्रेष्ठले जानकारी दिए ।
चैत ७ गते एकै दिन झापा, कञ्चनपुर, काठमाडौं र गोरखा गरी चार ठाउँबाट एकता यात्रा सुरु हुने श्रेष्ठले
बताए । उक्त अभियान चैत १२ गते चितवनमा पुगेर टुंगिने छ ।
साथै केन्द्रीय समितिको बैठकले स्थानीय चुनावको तयारीमा पार्टीको सम्पूर्ण शक्ति परिचालन गर्ने निर्णय गरेको छ ।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमिति बैठकले विवादमा रहेको चुनावको चिन्हबारे टुंगो लगाएको छ । अब राप्रपाको चुनाव चिन्न गाई नै राख्ने भएको छ ।
बहुमत केन्द्रीय सदस्यको चाहना अनुसार राप्रपाको चुनाव चिन्ह गाई रहने भएको श्रेष्ठले जानकारी दिए । यसअघि चुनाव चिन्ह हलो राख्ने कि गाई भन्नेबारे पार्टी भित्र विवाद भएको थियो ।
लोकेन्द्रबहादुर चन्द, डा. प्रकाश चन्द्र लोहनी लगायतका नेताहरुले हलोको पक्षमा लविङ गरे पनि बहुमत केन्द्रीय सदस्य गाईको पक्षमा उभिएपछि चुनाव चिन्हबारे निर्णय लिइएको केन्द्रीय सदस्य श्रेष्ठले जानकारी दिए ।
गत मंसिरमा पार्टी एकता हुनु अघि हलो राप्रपाको र गाई राप्रपा नेपालको चुनाव चिन्ह थियो । राजसंस्था रहेको बेला निरंकुश व्यवस्था भन्नेहरुले जनताका अधिकार आफैले खोस्दै लगेका छन् । त्यसको उदाहरण हो नेपाली जनताले स्थानिय निकायमा जनप्रतिनिधि छान्न नपाउनु तर नेताहरुले जनताले दिएको म्यान्डेड सकिएपछि पनि क्याद सिध्एिको संसदको पुर्नबहाली गरी उन्मात मचाउने, संसद पुर्नबहाली गर्ने तर स्थानिय स्तरका जनप्रतिनिधिहरुको म्याद एक दिन पनि नथपि जनता माथि लाठी, भाला, बन्दुकले शासन गर्नु सबैभन्दा तल्लो तहको नेताहरुको गतिविधि देखिएको थियो तर आज निर्वाचन हुन्छ भन्ने कुरा सुन्दा जनताका अनुहारमा हर्ष छाएको देखिन्छ । तर, नेताहरुको बदनियत र कुटनीति सर्वसाधारण र सोझा जनतालाई थाहा छैन । देश अझै निरंकुश धारामा चलिरहेको छ । अझैपनि भरोसा छैन कि नेपाली जनताले आफ्ना अधिकार सुरक्षित गर्न पाउने हुन कि होइनन् ? हिन्दु राष्ट्रको पतन गरायो । यस्तै विभिन्न ऐतिहासिक संरचनाहरु ध्वस्त पारिए । देशमा राजा तथा कविहरुका शालिकहरु तोडिए, देशभर अभद्रता सिर्जना गरिएको छ । ऐन कानूनले होइन कि देशलाई सहमतिले चलाउने गरेको छ । यसरी नै चलाउने हो भने संविधानको के आवश्यकता ?

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh