ई – दिशानिर्देश

स्थानीय तहलाई विद्युतिकरण हुनुपर्ने माग गर्दै स्थानीयहरुको माग

२३ फाल्गुन २०७४, बुधबार
स्थानीय तहलाई विद्युतिकरण हुनुपर्ने माग गर्दै स्थानीयहरुको माग

दार्चुला, १९ फागुन । ७ नम्बर प्रदेश अन्तरगत रहेको पहाडी क्षेत्र दार्चुला तथा बैतडीमा स्थानीय तहलाई विद्युतिकरण हुनुपर्ने माग अघि सारेका छन् । ३ स्थानीय तहलाई विद्युतीकरण लगायतका मागहरू पूरा नगरिएको भन्दै चमेलिया जलविद्युत् आयोजनाको मूल गेटमा आमरण अनसन सुरु गरिएको छ । खानेपानी मूल संघर्ष समिति बलाँचले दार्चुलाका दुई स्थानीय तह र बैतडीको एउटा स्थानीय तहलाई विद्युतीकरण लगायतका माग पूरा नभए शुक्रबारदेखि आमरण अनसन सुरु गर्ने चेतवानी ११ फागुनको सार्वजनिक अपिलमा उल्लेख थियो ।

उक्त अपिलमा राखिएका मागको हालसम्म कसैले सुनुवाइ नगरेकाले बाध्य भएर अनसन थालेको खानेपानी मूल संघर्ष समिति बलाँचका सचिव सुरेन्द्रबहादुर तितराले बताए । दार्चुलाको शैल्यशिखर नगरपालिका, मार्मा गाउँपालिका र बैतडीको डिलाशैनी गाउँपालिकालाई तत्काल विद्युतीकरण गर्नुपर्ने लगायतका ९ बुँदे माग गर्दै चमेलिया जलविद्युत् आयोजनास्थल बलाँचका खानेपानी मूल संघर्ष समितिले अनसन सुरु गरेका हुन् । खानेपानी मूल संघर्ष समिति अध्यक्ष शंकर खडायत, सचिव सुरेन्द्रबहादुर तितरा र सदस्य परमानन्द खडायले चमेलिया जलविद्युत् आयोजनाको मूल गेटमा अनसन सुरु गरेका छन् । खानेपानी मूल संघर्ष समितिले आयोजना निर्माणका क्रममा बारिल क्षेत्रमा सुकेका खानेपानी र सिँचाइका मुहानहरूको स्थायी र दीर्घकालीन समाधान गरिनुपर्ने, आयोजनाबाट प्रत्यक्ष रूपमा विस्थापित र प्रभावितहरूको रोजगारीको सुनिश्चितता, आयोजनाको निर्माणबाट प्रभावित शैल्यशिखर नगरपालिका, मार्मा गाउँपालिका, र बैतडीको डिलाशैनी गाउँपालिकामा निःशुल्क रूपमा विद्युतीकरण गर्नुपर्ने लगायतका मागसहित सार्वजनिक अपिल गरेको थियो ।

साथै, चालु आर्थिक वर्षमा दार्चुला र बैतडीका सम्पूर्ण क्षेत्र विद्युतीकरणको ग्यारेन्टी गरी दार्चुला र बैतडीलाई लोडसेडिङमुक्त जिल्ला घोषणा गर्न नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र र चमेलिया जलविद्युत् आयोजनालाई माग गरेका थिए ।

अपिलमा दिइएको समय सीमाभित्र पूरा नगरिएकोे भन्दै अनसन सुरु गरिएको खानेपानी मूल संघर्ष समिति सचिव सुरेन्द्रबहादुर तितराले बताए । साथै, आफ्ना मागहरू पूरा गर्न मिति तोकेर प्रतिबद्धता नभएसम्म अनसन जारी रहने उनले बताए ।

अनसन बसेका स्थानीयहरूको सुरक्षाका लागि आयोजनास्थलको सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी, नेपाल प्रहरीले सुरक्षा दिइरहेको आयोजना स्थलमा खटिएका सशस्त्र प्रहरी डिएसपी श्याममणि ढकालले जानकारी दिए ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh