ई – दिशानिर्देश

डोटीमा न्यायिक समितिका पदाधिकारीका लागि आठ दिने आधारभूत तालिम

२७ फाल्गुन २०७४, आईतवार
डोटीमा न्यायिक समितिका पदाधिकारीका लागि आठ दिने आधारभूत तालिम

दिशानिर्देश समाचार
डोटी, २६ फागुन
प्रदेश नं. ७ अन्तरगत डोटीमा
रहेका स्थानीय तहका न्यायिक समितिका पदाधिकारीहरुका लागि आठ दिने आधारभूत तालिम शनिबारदेखि सिलगढीमा शुरु भएको छ । प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको आयोजनामा जिल्लाका ९ वटै स्थानीय तहका न्यायिक समिति संयोजक तथा सदस्यहरुका लागि तालिम आयोजना गरिएको हो ।
स्थानीय तहमा न्यायिक समितिले विभिन्न प्रकारका मुद्दाहरुबारे न्याय सम्पादन गर्नुपर्ने र मेलमिलाप गर्नुपर्ने जिम्मेवारी
रहेकाले तालिमको आयोजना गरिएको प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालका संस्थापक अध्यक्ष तथा केन्द्रिय कार्यकारी निर्देशक चुपबहादुर थापाले बताए । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार स्थानीय तहका उप–प्रमूखको संयोजकत्वमा न्यायिक समिति रहने व्यवस्था छ । सो समितिलाई दिइएको जिम्मेवारी पूरा गर्न सहज होस् भन्ने उद्धेश्यले तालिमको आयोजना गरिएको आयोजक संस्थाका राष्ट्रिय श्रोत व्यक्ति लोकबहादुर थापाले बताए । आफू जनप्रतिनिधीमा निर्वाचित भईसकेपश्चात हालसम्म १३ वटा मुद्दा न्यायिक समितिमा परेको जोरायल गाउँपालिका उपाध्यक्ष एवं न्यायिक समिति संयोजक जमुना बोहराले बताइन् । जसमध्ये हालसम्म १० वटा मुद्दाको किनारा लगाईसकिएको र ३ वटा मुद्दामाथि छलफल जारी रहेको उनले बताइन् । न्यायिक समितिमा विभिन्न खालका मुद्दाहरु आउन थालेपछि विभिन्न कानुनको अध्ययन गर्नुपर्ने र मुद्दा छिन्नुपर्ने विषय चुनौतीपूर्ण रहेकाले यो तालिम महत्वपूर्ण भएको उनले बताइन् । नेपाल सरकारले मेलमिलाप परिषदमार्फत गर्नुपर्ने काम प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले आयोजना गरिदिएकोमा जिल्ला स्तरीय मेलमिलाप अनुगमन समिति संयोजक एवं जिल्ला न्यायाधिश तथा कार्यक्रमका प्रमूख अतिथी जयानन्न पनेरुले बताए । सजाय पाउनै पर्ने खालका आपराधिक मुद्दा बाहेक स्थानीय स्तरमा समाधान गर्न र मेलमिलाप गराउन मिल्ने मुद्दाहरुमा न्यायिक समितिले अहम् भूमिका खेलिदिन न्यायाधिश पनेरुले विशेष आग्रह गरे । मेलमिलाप सम्बन्धी ऐन २०६८ का आधारमा अदालतमा विचाराधिन रहेका मुद्दा समेत स्थानीय तहमा पठाउन सकिने व्यवस्था रहेको पनि उनले बताए । साथै न्यायिक समितिले सम्पादन गरेका काम मेलमिलाप अनुगमन समितिमा जानकारी गराईदिन पनि उनले आग्रह गरे ।
समाजमा पक्षपात रहित वातावरणमा सबैको जीत–जीतको सिद्धान्तलाई आत्मसाथ गरेर मेलमिलाप सम्बन्धी कार्य सम्पादन गरिदिन जिल्ला समन्वय समिति डोटीका संयोजक राम ऐरले
बताए । तालिममा झण्डै १३ वर्षदेखि मेलमिलाप क्षेत्रमा काम गर्दै आएका अधिवक्ता गणेश कडायतले सहजिकरण गर्नेछन् ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh