आज भ्रष्टाचारले विकासको बुई चढेर घरदैलो चहारी राखेको छ । पहाडी क्षेत्र होस् वा तराई क्षेत्रमा विकास निर्माणका प्रारम्भिक काम थुप्रै हुन लागेका छन्, तर योजनाबद्ध छैनन् । नेताबद्ध भएका छन् ।
नेताहरुका आसेपासेहरुले उपभोक्ता समिति निर्माण गरी सोही मार्फत काम गरिराखेका छन्, देशमा भईराखेको भ्रष्टाचारको भारी पनि ती योजनाहरुले नै बोकिराखेका छन् र प्रत्येक गाउँ गाउँमा भ्रष्टाचार र विकास सँगसँगै पुगेको छ । विकास पछि परेको छ, भ्रष्टाचार अगाडि, कसरी भने जुन ठाउँमा योजना हुने हो त्यो ठाउँमा योजना छैन, जहाँ पैसा पायो त्यही बाटाघाटा बनिराखेका छन्, । कुनै कुनै ठाउँमा एक व्यक्तिगत घरपरिवारलाई आफ्नो निजी सडकमा ग्राईभेल कालोपत्रे गर्ने काम भईराखेको छ भने कही कुनै ठाउँमा सार्वजनिक बाटोमा समेत ग्राईभेल हालिएको छैन । भाई भाई अलग भएको नाता जोडेर खोलिएका सिमित अत्यन्त निजि सडकहरुमा सरकारी रेखांकन विना नै ग्राईभेल गर्ने काम भईराखेका छन् ।
त्यो ग्राईभेल खरिद गर्ने र ढुवानी गराई नगरपालिकाबाट हालिन्छ भने त्यो साँझा सम्पत्ति हो त्यस्ता काम रोक्नुपर्छ सबभन्दा पहिले सार्वजनिक बाटाघाटामा जोड दिनुपर्छ, बनाउनुपर्छ अनि त्यसपछि भाईहरु भिन्न भएको नाताले गरिएका प्लटिङमा जाने बाटाहरुमा जनताको साँझा सम्पत्ति खर्च गर्न
पाईदैन । यस तर्फ नगरपालिकाको ध्यान जानु नितान्त आवश्यक छ ।
नोट र भोटको लोभले सार्वजनिक सडकहरु निर्माण नगरी कसैले आफ्नो जग्गामा प्लटिङ गर्छ भने नगरपालिकाले सडक बनाईदिने काम साँझा सम्पत्तिले गर्नुहुदैन त्यो त नितान्त निजी हो प्लटिङहरु विक्रि गरी कमाएको मुनाफा त्यही व्यक्तिको हुन्छ जसको जसको नाममा जमिन छ । कुनै साँझा कलेज, स्कुल,विद्यालय, या मेडिकल कलेजहरु व्यक्तिको नाममा जग्गा छ भने त्यसमा खोल्नलाई सरकारले स्वीकृती दिनुहुदैन । जस्तै विगतमा कञ्चनपुरमा खोलिएको मेडिकल कलेजको जग्गा नन्दा जोशीको नाममा रहेकोले मेडिकल कलेज फेल हुँदा मेडिकल कलेजको श्रीसम्पत्ति नन्दा देवी जोशीको हडपेको छ ।