ई – दिशानिर्देश

अविस्मरणीय यात्राका केही झलकहरु

२३ चैत्र २०७७, सोमबार
अविस्मरणीय यात्राका केही झलकहरु

बलदेव अवस्थी
भानुस्वर्णपदक प्राप्त

मेरो जीवन यात्राको मलाई खासै महत्व लाग्दैन, मेरो यात्रामा मैले महशुस गरेका केही अनुभवहरु म नेपाल आमाका युवाहरुको अध्ययनको लागी प्रकट गरिरहेको छु । सर्वप्रथम म जन्मिएको २००५ बैशाख २९ गते मंगलबार थियो भन्ने कुरा नै मेरा आमा बुवाले मलाई सिकाएका थिए । साचो झुटा जे भए पनि मैले गलत हो भन्ने हिम्मत राख्नु भन्दा अरु तथ्य प्रमाण खोज्नु पर्दछ । म जन्मेकै दिन गाउँ र छिमेकी गाउँमा एक २ व्यक्ति बालक अरु जन्मेकाले फलानो र मेरो छोरा एकै दिन जन्मेका हुन भन्ने वाह्य व्यक्तिहरुको कथनबाट पनि मेरो जन्म पाँच साल बैशाख २९ गते नै रहेछ भन्ने एकिन गरेको छु । यि कुराहरु किन भन्नु पर्यो भने आजको राज्य व्यवस्थाका सञ्चालकहरु हामीलाई भोट देउ हामी तपाईहरुलाई यो त्यो सुविधा दिउला भनि प्रचारबाजी गरी रहेका मात्र होइन कि आफ्ना कार्यकर्ताद्वारा जनता माझ पनि पुग्छन । नेताहरु आफ्ना कार्यकर्ता सहयोगीलाई केवल सत्तामा पुग्ने सिडीमा मात्र बनाई झुटा कुराहरु जनता सामु पुर्याई कार्यकर्ता र जनतालाई धोका दिने काम भैरहेको पाइन्छ भने नालायक आमाबुवाले सानो मनमुटावमा आफन्त वा अर्काको रीस साध्न आफ्ना छोरा, बुहारी श्रीमतीलाई समेत झुटा कुरा पुर्याई समाज घर परिवारलाई भाड्ने काम गरेका थुप्रै उदाहरणहरु छन् ।
राष्ट्रका नेताहरुले आफ्ना कार्यकर्तालाई र व्यक्तिले आफ्नी स्वास्नी, छोराछोरी बुहारीहरुलाई झुटा कुरा भनि सत्रुता उत्पन्न गराएका पनि छन् । तसर्थ कार्यकर्ता, छोरा बुहारीहरुले सत्यताको खोज गरी घरपरिवार गाउँ समाजमा सुमधुर सम्बन्ध राख्ने दायित्व रहेकोले सत्यताको खोज हुनु नै पर्छ ।
म १५/१६ साल तर्फ कक्षा एकमा पढ्थे, स्थायी विद्यालय थिएन घुम्ती विद्यालय थियो भारत अस्कोटबाट आएका शिक्षक एक जना थिए । हामी २०/३० जनालाई कखरा सिकाउथे । दुना, सवा, ढाम हुटो इत्यादि कन्ठ गराउथे हामी सिक्ने क्रममा थियौ । एक जना मेरा साथी राम बहादुर विष्ट आफ्ना पिताका अति प्रिय थिए । स्कुल भवन, स्कुलको नाम नभए पनि जहाँ जुन ठाउँमा हामी खुला ठाउँमा बसी पढ्थ्यौ, त्यहाँ उनका पिताजी पनि पढाई हेर्न आउथे उनी गाउँका प्रतिष्ठित थिए । आफ्नो छोरा राम बहादुरलाई कांग्रेस भनेर बोलाउथे र हामी पनि कांग्रेस भनेर बोलाउथ्यौ बाँकी थाहा थिएन । सायद १७ सालकै आसपास थियो हामी ए कांग्रेस भनेर बोलाउथ्यौ र उनका पिताजीले हामीसँग भन्नुभयो “मेरो छोरालाई कांग्रेस नभनि दिनु राम बहादुर भनेर बोलाउनु कांग्रेस भने पुलिसले लैजान्छन् भन्थे हामी हास्दथ्यौ । २००७ साल देखि २०१७ सालसम्मको राजनीतिक अवस्था ठीक रहेनछ भन्ने कुरा अलि अलि २०२४÷२५ सालतर्फ बुझ्न सुन्न थाल्यौं ।
२०१५ सालको आम चुनावको बुथ तल्लादेही झरकोटा माडौंमा थियौं हामी रहरले हेर्न गएका थियौं । कोही रुख रुखमा भन्दथे भने कोही धानको बालामा भोट दिनु भन्दथे धानको बाला डा. केआई सिंहको हो भन्दथे बस त्यति याद छ । समय वित्दै गयो म पनि खेती स्कुलबाट पुर्चौडीहाटको डिलेश्वरी हाई स्कुलमा भर्ना भए । २०२६ सालमा एसएलसी परिक्षा दिए देशभर १५ हजार परिक्षार्थी थिए भन्ने सुन्दथे । मलाई सम्झना आयो कांग्रेसको सरकार अपदस्त भएपछि २०१७ सालमा पंचायती व्यवस्था आएको रहेछ । गाउँ पंचायतमा ठूलो धेरै जोरले बोल्ने नेपालको निसाना छाप भएको रेडियो सरकारले दिएको थियो । नेपाल रेडियो जहाँ पनि लाग्ने अरु केही नलाग्ने थियो । पंचायतका सूचनाहरु आई रहन्थे । पंचायतमा खानेपानी, सिचाई कुलो, गोरेठो, घोरेठो बाटो आदि के आवश्यकता छ जिल्ला पंचायतमा लेखेर देउ भन्ने सूचना रेडियोमा आई रहन्थ्यो ।
मेरो विर्सन नसकिने यात्रा थियो खास गरी म जेठाबुवासँगै यता उता जाने गर्थे, हाम्रो घरमा पसल थियो, गुड, मिश्री, नरिवल, विडी सिगरेट इत्यादिको खुद्रा पसल थियो । झोलामा त्यही अली अली सामान राखी गाउँमा घुम्ती पसलेको रुपमा जान्थे सामान लिन भारतको पिथौरागढ सोर जहाँ नेपाली, गोरखा सैनिकबाट निर्माण भएको थियो नेपाली किल्ला । त्यहाँबाट सामान ल्याउन आउन जान हामीलाई पइदल ५ दिन लाग्दथ्यो आउँदा जाँदा रात विताउने स्थान बाटोमा धर्मशाला, च्यूरा, मालुवेलाको झुल या ओराड, सोर बजार पुगेपछि व्यापारीका बरण्डामा हाम्रो बास हुन्थ्यो । ओड्ने विछाउन मण्डी (कम्बल) दिई हामीलाई व्यापारीहरु सहयोग गर्थे बाटोभरी कुनै चोर डाकाहरु थिएन कही घटना भएमा कडा प्रहरी कारवाही हुन्थ्यो । सबै हाम्रो सहयोगमा लागी रहने समय पनि थियो । बाटोभरी चुलाई चुला थिए हरेक यात्री आफै खाना पकाउथे । घर देखि सोरसम्म पुग्दा बाटामा सहयोगी मात्र पाइन्थे ।
गाउँ गाउँमा गाउँ पंचायतथिए त्यहाँ पनि न्याय इन्साफ पाएकै थियौं आफ्नो पराएको वास्ता थिएन गाउँ पंचायतका पदाधिकारीहरुमा धेरै
निर्विरोध हुन्थे । गाउँ पंचायतबाट इन्साफ नपाए प्रमुख जिल्ला अधिकारी र त्यहाँबाट पनि नपाएमा अञ्चलाधीश सित भन्नु पर्दथ्यो । आफ्ना पाराया कोही नभएको यात्राबाट आज हामी आफ्नो पारायाको यात्रामा पुगेका छौं । कोही गर्दा जो पार्टीको कार्यकर्ता हो उसैको झण्डा ओडाइन्छ, उसलाई राष्ट्रिय झण्डाको पहुँच हुदैन । उहिले कोही मर्दा पंचायतवाला मृतककै घरमा जान्थे भने आज मृतकलाई भेटन घरमा नभई पार्टी कार्यालयमा लासलाई बुझाउने प्रथा पाईयो । कति स्वार्थी प्रथा मरेर पनि स्वतन्त्रता नपाईने गणतन्त्र प्रजातन्त्र, लोकतन्त्र । केन्द्रीय राजनीतिमा दल हुनु राम्रो हो तर गाउँ न.पा.हरुमा दलिएता नभई स्वतन्त्रता रहनु राम्रो ठान्दछौं ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh