ई – दिशानिर्देश

सडक छेउछाउमै फालिन्छ जथाभावी फोहोर

२६ मंसिर २०७९, सोमबार
सडक छेउछाउमै फालिन्छ जथाभावी फोहोर

दिशानिर्देश समाचार
महेन्द्रनगर, २४ मंसिर
सडक छेउछाउमै जथाभावी प्लाष्टिकजन्य फोहर फालिने गरेको छ । यातायातका साधनबाट प्लास्टिक र अन्य फोहर निर्धक्क सडकमा फाल्ने गरेका थुप्रै उदाहरणहरु देख्न सकिन्छ ।
अटोरिक्सा देखि निजी कार र सार्वजनिक बसबाट फोहर सडकमा हुत्याइन्छ । सरकारले पटक पटक सार्वजनिक सूचना र अपिल गर्दा पनि प्लाष्टिकजन्य फोहर र बचेको खानेकुरा सवारी सधानबाट सडकमा फाल्ने क्रम रोकिएको छैन ।
सवारी साधनबाट जथाभावी फोहर सडकमा मिल्काउँदा नगर क्षेत्रका सडक बिहानीपख सफाइ गरे पनि केही समयपछि फोहरले जस्ताकोतस्तै देखिने गरेका छन् । सार्वजनिक बसदेखि विद्यालयका बसहरुमा समेत फोहोर राख्ने भाँडोको व्यवस्था गरिएको छैन ।
कञ्चनपुरको महेन्द्रनगर बजारमा पनि फोहर जथाभावी फालिने गरेको छ । प्रत्येक दिन विहान नगरपालिकाले फोहर उठाउने गाडी घर घरमा ल्याएपनि अन्य समयमा फोहर सडकपेटीमै फाल्ने गरेका थुप्रै उदाहरणहरु देख्न सकिन्छ ।
त्यसैगरी प्रदेशको अस्थायी राजधनी रहेको धनगढी उपमहानगरपालिकाले जथाभावी फोहर नमिल्काउन नगरवासीलाई आग्रह गर्दै आएको छ । मुख्य सडकमा यो वर्ष मात्रै ठाउँठाउँमा फोहर विसर्जनका लागि डस्टविन राखिएको छ । कुहिने र नकुहिने फोहर अलग्याएर राख्न र व्यवस्थापन गर्न सहज होस् भनेर उपमहानगरले एकै ठाउँमा दुईटा डस्टविन राखेको छ ।
योसँगै सडक, चौर, बाटो, खोला किनार र अन्य सार्वजनिकस्थलमा फोहर फाल्नुलाई दण्डनीय कसुर परिभाषित गरिएको छ । तर, सर्वसाधारणको व्यवहार परिवर्तन नहुँदा अस्पताल परिसरदेखि सडक र गल्लीमा बेफिक्री फोहर फाल्न छोडिएको छैन ।
धनगढीमा चल्ने कुनै पनि रिक्सा चालकलाई फोहर राख्ने झोला राख्नुपर्ने आवश्यकता नै महसुस नै भएको छैन । यात्रुले रिक्साबाट सडकमा फोहर फाल्ने आदत सामान्य हो भन्ने यात्रु र रिक्सा चालकले ठान्ने गरेका छन् । धनगढीमा रिक्सा चालकलाई फोहर राख्ने झोला छ ? भनेर गरिएको प्रश्नमा कसैले पनि यो कुरामा चासो नै राखेको देखियो । यात्रुले फोहरजन्य वस्तु सडकमै मिल्काउने गरेको एक रिक्सा चालकले स्वीकार गरे । ‘हामीले रिक्सामा फोहर राख्ने झोला राखेका छैनौँ,’ उनले भने, ‘यात्रुले सडकमै फोहर फाल्छन् ।’ धनगढीमा रिक्साको सँख्या अत्यधिक छ । रिक्सा चढ्नेहरूले पनि जथाभावी सडकमै फोहर फाल्ने गर्छन् । कुनै पनि रिक्सा चालकहरूले यात्रुका लागि फोहर राख्ने प्रयोजनका लागि झोला नै राख्दैनन् ।
जसले गर्दा कुनै चिजबस्तु खाएर यात्रुले प्लाष्टिक, र्यापर र फलफलका बोक्रा सडकमै फाल्ने गर्छन । रिक्साजस्तै अन्य सवारीमा पनि फोहर व्यवस्थापनका लागि कुनै बन्दोवस्त गरिएको देखिदैन । धनगढीको मुख्य सडकमा भेटिएका एक जना डेलिभरी भ्यान चालकले आफ्नो गाडीमा फोहर राख्ने झोला या डस्टविन नराखेको बताए ।
‘मैले पनि गाडीमा डस्टविन राखेको छैन तर फोहर भने जथाभावी बाहिर मिल्काउँदैन । यतै गाडीभित्र राखेर जहाँ डस्टविन हुन्छ त्यहाँ हाल्ने गरेको छु,’ उनले भने । निजी सवारी धनी, भाडाका ठुला र साना सवारी चालकले पनि आफ्नो गाडीमा यात्रुका लागि फोहर राख्न कुनै व्यवस्था गरेका छैनन् । धनगढी बसपार्कबाट छुट्ने लामो र छोटो दुरीका कुनै पनि सवारी साधनमा फोहर राख्न डस्टविन छैन ।
यात्रुले बान्ता गरेको प्लास्टिक झोला, पानीको बोतल र फलफलका बोक्रा निर्धक्क भएर सडकमै फाल्ने गरिन्छ । निजी सवारी धनीले पनि फोहर गाडीबाट सडकमै हुत्याउँछन् । किनभने फोहर राख्ने झोला या डस्टविन कुनै पनि निजी गाडी धनीले पनि राख्ने गरेका छैनन् ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh