ई – दिशानिर्देश

त्रिदेशीय नाका जोड्ने सडक सुस्त गतिमा

१७ फाल्गुन २०७९, बुधबार
त्रिदेशीय नाका जोड्ने सडक सुस्त गतिमा


बझाङको सदरमुकाम चैनपुरबाट तिव्बत जोड्ने सडकको चैनपुर–ताक्लाकोट सडक कटानको कार्य सुस्त छ । २०६२ सालमा निमार्ण सुरु भएको सो आयोजनामा १७ वर्षमा ३९ किलोमिटर ट्रयाक खोल्ने काम मात्र भएको छ ।
११७ किलोमिटर लामो सडक निर्माणको काम निकै सुस्त छ । सो सडकको चैनपुर रुवातोला खण्डको १८ किलोमिटर विकेन्दीकृत पुर्वाधार तथा जिविकोपार्जन कार्यक्रम (ड्रिलिप) ले २०६८ सालमै निमार्ण पुरा गरेको थियो । रुवातोलादेखि माथिको खण्डमा काम सुरु हुने बेला स्थानिय दुई गाँउका बासिन्दाबीच सडक कताबाट लैजाने भन्ने विषयमा विवाद भएपछि एक वर्षसम्म निमार्ण कार्य अवरुद्ध भएको संविधान सभा सदस्य मानप्रसाद खत्रीले बताए ।
विवाद समाधान हुन नसकेपछि सर्वदलीय बैठकले निर्णय गरी ड्रिलिप आयोजना नै यस सडकमा काम नगर्ने गरी जिल्लाको दक्षिणी भेग थलारामा सारिएको थियो ।’ भारतको दिल्लीबाट ७ सय किलोमिटर भन्दा कमको सडक दुरीमा चीन जोड्न सकिने नेपालको सबैभन्दा छोटो त्रिदेशीय नाका भएका कारण पनि यसलाई जति सक्दो चाडो खोल्नु पर्ने स्थानीयको माग छ । सुदूरपश्चिम विकासको मूल ढोकाको रूपमा परिचित ताक्लाकोट सडकखण्ड निर्माणको जिम्मा नेपाली सेनालाई दिन साइपाल गाउँपालिकाका जनप्रतिनिधिले संघीय सरकारसँग माग गरेका छन् । निर्माण व्यवसायीबाट काम गर्दा ढिलो हुने गरेको भन्दै उनीहरूले सेनालाई जिम्मा दिन माग गरेका हुन् । त्रिदेशीय नाका जोड्ने यस सडकखण्डलाई बझाङसहित
सुदूरपश्चिम प्रदेशकै विकासको आधार मानिए पनि निर्माणले गति लिन सकेको छैन । कठिन चट्टानी भीरपाखा फुटाउन मेशिनरी साधन, स्रोत भएकाले नेपाली सेनालाई उक्त सडकखण्ड निर्माणको जिम्मा दिनुपर्ने गाउँपालिकाका अध्यक्ष मानवीर बोहराले बताए । सेनाले छोटो समयमै त्यस क्षेत्रको काम सम्पन्न गर्न सक्ने आकलन जनप्रतिनिधिको छ ।
निर्माण व्यवसायीलाई जिम्मा दिँदा उक्त सडक निर्माण सम्पन्न गर्न अझै १० वर्ष लाग्न सक्ने उनले बताए । निर्माण व्यवसायी र सेनाको काममा निकै भिन्नता रहेको जनप्रतिनिधिको ठम्याइ छ । संघीय सरकारले प्रत्येक वर्ष बजेट छुट्ट्याएर सुस्त गतिमा काम भयो भन्नुभन्दा तत्काल नेपाली सेनाको जिम्मा लगाउनु उपयुक्त हुने अध्यक्ष बोहराले
बताए । बुधवार मात्रै प्रतिनिधिसभा सदस्य भानुभक्त जोशीले उक्त सडकखण्डको अनुगमन गरेका छन् । यस वर्ष सडक निर्माणले गति नलिएको समेत उनले बताए । गाउँपालिका उपाध्यक्ष डोल्मा तामाङले केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटमा आफूले ताक्लाकोट सडकखण्ड निर्माणको जिम्मा सेनालाई दिनुपर्ने माग गरेको बताइन् ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh