ई – दिशानिर्देश

महाकाली नदीको पुल र पहुँच मार्ग निर्माण अन्तिम चरणमा

२८ फाल्गुन २०७९, आईतवार
महाकाली नदीको पुल र पहुँच मार्ग निर्माण अन्तिम चरणमा

दिशानिर्देश समाचार
महेन्द्रनगर, २७ फागुन
कञ्चनपुरको दोधारा चाँदनीमा राष्ट्रिय गौरवको आयोजना अन्तर्गत महाकाली नदीको निर्माणाधीन चार लेनको पक्की पुल र पहुँच मार्गको काम अन्तिम चरणमा पुगेको निर्माणकर्ताले जनाएका छन । पुल र सडक निर्माण पूरा भएपछि महाकाली नदीले धार परिवर्तन गर्दा अलग्गिएको कञ्चनपुरको दोधारा चाँदनी क्षेत्र पूर्वपश्चिम राजमार्गसँग जोडिने छन् । कञ्चनपुरदेखि दार्चुला हुँदै चीनसँग जोडिने महाकाली कोरिडोर र भारतसँग जोडिने दोधारा चाँदनीमा प्रस्तावित एकीकृत जाँच चौकीलाई लक्षित गरी महाकालीमा पक्की पुल निर्माण भइरहेको छ ।
नेपालको पश्चिमी क्षेत्रबाट बग्ने महाकाली नदीको पूर्वी भँगालोमाथि बन्दै गरेको पुल ८ सय मिटर लम्बाई र २३ दशमलव ८ मिटर चौडाइको हुनेछ । २०७४ भदौदेखि निर्माण सुरु गरिएको पुलको दुवैतिर ७ दशमलव ८ किलोमिटरको पहुँच मार्ग हुनेछ । नदीभित्र ४ वटा पोखरी बन्ने छन् । तीन वर्षअघि नै काम सक्नुपर्ने समय लम्बिँदा आयोजनाको लागत बढेर तीन अर्ब २३ करोड रुपैयाँ पुगेको छ । समयमै काम भए २०८० चैत १५ गतेसम्म निर्माण सकिनेछ ।
पुलको दुवैतर्फ नदीमा बाँध बाँधेर आँखा आकारको पोखरी र आइल्याण्ड निर्माण गरी पर्यटकीय स्थलसमेत बनाउने लक्ष्य छ ।
कञ्चनपुरकै भीमदत्तदेखि दोधारा चाँदनी जोड्ने झन्डै डेढ किलोमिटर लामो झोलुङ्गे पुल र पक्की पुलसमेत सञ्चालनमा आइसकेको छ ।
चार लेनको पक्की पुल र पहुँच मार्ग निर्माणपछि नेपाल, भारत र चीनसम्मको त्रिदेशीय नाका दार्चुला सम्मको कनेक्टिभिटी सहज हुनुका साथै पश्चिम नेपालबाट विकासको ढोका खुल्ने अपेक्षा गरिएको छ । यहाँका स्थानीय बासिन्दाको जीवन स्तर उकास्नमा धेरै मदन गर्ने अपेक्षा लिइएको छ । औद्योगिक, व्यापारिक एवं आर्थिक क्षेत्रमा फडको मार्ने छ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh